मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख हुनुहुन्थ्यो । शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएका उनले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गरे । तर उनको खुसी भारतीय जङ्गली हात्तीले एक दिन पनि टिक्न दिएन । 

शुक्रबार राति १० कठ्ठा जमिनको धान हात्तीले खाएर र माडेर सखाप पारिदियो । उनले निरास हुँदै भने, “पाक्न लागेको बाली सखाप पारिदियो, अब के खाएर बाँच्नु ।” उनीमात्र होइन दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीको उपद्रो बढ्न थालेपछि बाहुनडाँगीवासी चिन्तित छन् ।

उनकै छिमेकी रमेश भुजेलको १० कठ्ठा, नन्द अधिकारीको पाँच कठ्ठा, कैलाश भण्डारीको पाँच कठ्ठा गरी डेढ बिघा जमिनको धान एकै रातमा हात्तीले खाइदिएको छ । मेची नदीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतीय जङ्गली हात्तीले बस्ती पसेर दैनिकजसो उपद्रो मच्चाउन थालेका छन् ।

हात्ती छेक्न विसं २०७२ मा विश्व बैंकको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेची नदी किनारमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाएको थियो । सोही तारवारका कारण आठ वर्षसम्म ढुक्कले निदाएका बाहुनडाँगीवासी हात्ती गाउँ पस्न थालेपछि रातभर जाग्राम बस्न थालेको स्थानीयवासी शङ्कर लुइँटेलले बताए ।