विराटनगर- मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन एवं निरीक्षण तीव्र पारेकाछन । नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई लक्षित गर्दै दाहालले भारतसँग सीमा जोडिएका स्थानको आकस्मिक अनुगमन एवं निरीक्षण थालेकाहुन । उनी नेतृत्वको टोलीले मोरङको धनपालथान, रंगेली लगायत सिमावर्ती क्षेत्रको अनुगमन गरेको छ । अनुगमनमा नेपाल र सशस्त्र प्रहरीले सहयोग गरिरहेका छन् ।

मोरङमा भारतसँग जोडिएको ६३.४ किलोमिटर खुला सीमा छ । सीमा क्षेत्रबाट हुने चोरी, तस्करी लगायतका अवैध धन्दा नियन्त्रण र नेपाल–भारत सीमाको अवस्था बुझ्नलाई सुरक्षाकर्मीको सहयोग लिँदै प्रजिअ दाहाल आफै अनुगमनमा निस्किएकाहुन । उनले सीमा अपराध, अनआवश्यक आवतजावत, चोरी तस्करी लगायत सबै खालका अवैध गतिविधी नियन्त्रणमा लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजवुत बनाउन सुरक्षाकर्मीलाई आवश्यक निर्देशन पनि दिएका छन । उनका अनुसार नेपाल–भारत सीमा छुट्याउने दशगजामा बनेका संरचना जतिसक्दो चाँडो हटाउन पहल भइरहेको छ । चाडपर्वका बेला बढ्नसक्ने ‘मुभमेन्ट’लाई ध्यानमा राख्दै सीमा क्षेत्रमा उचित सुरक्षा प्रबन्ध मिलाइएको दाहालले बताए ।

उनका अनुसार आयात निर्यातलाई चुस्त बनाउन एवम् सीमा क्षेत्रमा देखिएका समस्याको समाधान गर्न भन्सार कार्यालय, नेपाल र सशस्त्र प्रहरी एवं राजनैतिक दल र सरोकारवालासँग पनि छलफल गरेर आवश्यक रणनीति बनाइने छ । सुरक्षा निकायसमेतको समन्वय एवं सक्रियतामा चाडपर्व लक्षित सुरक्षा कार्ययोजना बनाएर लागू गर्ने तयारी भइरहेको जानकारी उनले दिए । चाडपर्वका बेला हुनसक्ने कालोबजारी, ठगी, मूल्यवृद्धि एवं म्याद सकिएका सामानको किनबेच नियन्त्रणमा कुनै कसर बाँकी नराखिने दाहालले बताए । प्रजिअ दाहालले कोरोना महामारी कायमै रहेकाले सर्वसाधारणलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै सीमा क्षेत्रमा जनेचतनामूलक सन्देशहरु पनि प्रवाह गर्न थालिएको बताए । ‘चाडपर्वका समयमा नेपालबाट भारतीय बजारमा सामान किन्न जानेको भीड लाग्ने गरेको छ ।

कामका सिलसिलामा भारत पुगेकाहरु पनि चाडपर्व मनाउन घर फर्कन्छन्,’ उनले भने, ‘सीमा क्षेत्रमा अत्याधिक चहलपहल हुनसक्ने भएकाले त्यही हिसाबको सुरक्षा रणनीति बनाएर लागू गर्नुपर्ने भएको छ । कोरोना संक्रमण नियन्त्रणमा पनि प्रशासनले सक्रियता बढाएको छ ।’ उनका अनुसार नेपाल–भारत आवतजावत गर्नेहरुलाई मास्क र सेनिटाइजरको प्रयोगका लागि अभिप्रेरित गर्ने काम भइरहेको छ । साथै सामाजिक दूरी र सरसफाईमा ध्यान दिन पनि आग्रह गरिएको छ । दाहालले भारतबाट नेपालतिर प्रवेश गर्नेहरुको अभिलेख राख्ने काम भइरहेको बताए ।

‘नेपाल प्रवेश गर्नेहरुले कोरोनाविरुद्धको खोप लगाए÷नलगाएको यकिन गर्ने गरिन्छ । आवश्यक परेमा उनीहरुको एन्टिजेन परीक्षण पनि हुन्छ,’ उनले भने ‘नेपाल छिर्नेहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै प्रवेश दिने गरिएको छ । त्यसका लागि सीमा नाकामा ‘हेल्थ डेस्क’ नै खडा गरेर आवश्यक स्वास्थ्यकर्मी लगायतका जनशक्ति परिचालन गरिएको छ ।’ चाडपर्व मनाउन भारतबाट आफ्नो देश फर्कने नेपालीहरुलाई सीमा क्षेत्रमा सास्ती नहोस् र आवतजावतका नाममा अवैध धन्दा हुन नपाओस् भनेर प्रशासन सचेत रहेको दाहालको भनाइ छ । उनका अनुसार सर्वसाधारणलाई सहज आवागमनको वातावरण मिलाउन सीमा क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।