विराटनगर  - चालु आर्थिक वर्षको पहिलो २ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ७० रुपैयाँ नाघेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार भदौ महिनासम्म २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँ नाघेको छ । दुई महिना अवधिमा नेपालमा कुल आयात ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

सोही समयमा नेपालको निर्यात भने आयातको तुलनामा न्यून रहेको छ । भदौसम्म ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु विभिन्न मुलुकमा निर्यात भएको विभागको तथ्यांक छ । दुई महिना अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ बराबरको भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भएको वैदेशिक व्यापार गत साल सोही अवधिको तुलनामा ७९.९२ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको पहिलो २ महिनामा १ खर्ब ९९ अर्ब २८  करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको नेपालको वैदेशिक व्यापार भएको थियो । चालु आर्थिक वर्षको पहिलो २ महिनामा आयात ७५.८६ प्रतिशतले बढेको र निर्यात ११५.४३ प्रतिशतले बढेको भन्सार विभागले जानकारी दिएको छ ।

कुल वैदेशिक व्यापारमा आयात निर्यातको अनुपात क्रमशः ८७.७२ र १२.२८ प्रतिशत रहेको भन्सार विभागले जानकारी दिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आयात निर्यातको अनुपात क्रमशः ८९.७४ र १०.२६ प्रतिशत रहेको थियो ।