मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान फित्तलो भएको आफन्तले आरोप लगाएका छन् । गत आइतबार बिहान आफ्नै घरको कोठाभित्र मृत भेटिएकी रोजिनाको मृत्यु प्रहरणमा प्रहरीको अनुसन्धान फित्तलो भएको मृतककी सानिमा रमिला गिरीले बताइन् । 

उर्लाबारी नगरपालिका–८ दुर्गापुरी माइती भएकी रोजिना आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृत भेटिएकी थिइन् । उनको शव त्यही दिन पोस्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भएपनि दुई परिवारबीच तालमेल नमिल्दा मङ्गलबार मात्र पोस्टमार्टम भएको थियो । 

‘मृत्यु भएको पाँच दिन बितिसकेको छ तर प्रहरीको अनुसन्धान फित्तलो छ,’ मृतककी सानिमा रमिलाले खबर पलपललाई भनिन्, ‘घरपट्टीका घटनाबारे केही बोलेका छैनन् । हामीलाई शव जिम्मा लगाइएको छ । पोस्टमार्टम पनि ढिलो भयो । रिपोर्टमा सत्यता हुनसक्ने अवस्था नै घट्यो । यसैले यस घटनामा निष्पक्ष अनुसन्धान नै हुन सकेको छैन ।’ अब, पोस्टमार्टम रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने उनले जानकारी दिइन् । 

पोस्टमार्टमपछि बुधबार माइतीक्षले रोजिनाको शव मोरङको उर्लाबारी नगरपालिका–३ मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखेको छ । शवको पोस्टमार्टम पछि राख्नका लागि मात्र मङ्गलबारे ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रवि शाहले जानकारी दिए ।

गत मङ्गलबार मृतकका आफन्तले रोजिनाको हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको मागसहित इलाका प्रहरी कार्यालय बेलबारीअगांडि प्रदर्शन गरेका थिए । प्रहरीको अनुसन्धान निष्पक्ष हुन नसकेको गुनासो गर्दै दोषीमाथि कारबाहीको माग राखेर उनीहरूले प्रहरी कार्यालय घेराउ गरेका थिए । त्यसअघि सोमबार छोरीलाई हत्या गरेर झुन्डाएको भन्दै रोजिनाका बुबा धर्मानन्द गिरी र आमा ईन्दिरा गिरीले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका थिए । 

यता, माइतीपक्षको किटानी जाहेरीपछि घटनाको अनुसन्धान तीव्र रूपले जारी रहेको  इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिएका छन् । खनाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले भने रोजिनाले आत्महत्याको आशङ्का गरिरहेको छ । तथापि, पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे पुष्टि हुने खनालले जानकारी दिए । ‘हामी पोस्टमार्टम रिपोर्टको प्रतीक्षामा छौँ’, उनले भने, ‘रिपोर्ट आएपछि आत्महत्या वा हत्या भन्ने पत्ता लाग्छ । प्रहरीको अनुसन्धान रोकिएको छैन ।’

रोजिनाको शव आधा खुट्टा बाहिर र शरीर बक्स पलङमा रहेको, सिरानी च्यापेर घोप्टो परेको अवस्थामा शव फेला परेको थियो । सलको पासोले सिलिङ फेनमा झुन्डिएर आत्महत्या गरिएको भनिए पनि यो आत्महत्या नभएर हत्या भएको, हत्या गरेर झुन्ड्याएको मृतकको आफन्तको आरोप छ ।