मोरङ बूढीगंगा गाउँपालिकामा माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा—६ सैतानपुर का २६ वर्षीय कामलिस माझी रहेका छन् । 

बुधबार बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको विद्युतको लाइन लगेर करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा बेलुका ५ बजे मृत्यु भएको हो ।

घटनासम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।