विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका–११ सलकपुरकी २२ वर्षीया रोजिना गिरी मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान शंकास्पद बनेको गुनासो माइती पक्षको छ । रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा गत आइतबार बिहान रोजिनाको शव घरकै कोठाभित्रको ओछ्यानमा फेला परेको थियो ।

माइती पक्षले उनको हत्या भएको दाबी गरिरहेका छन् । प्रहरीले भने रोजिनाले आत्महत्या गरेको भनिरहेको छ । अनुहार र शरीरका विभिन्न भागमा नीलडाम एवं चोटकपटक रहेको तथा रगत बगिरहेको अवस्थामा आफूहरुले शव देखेको रोजिनाका काका चक्र गिरीले बताए । हेर्दा कुनै ठाउँमा ठोक्काएर र कुटपिट गरेर हत्या गरेपछि झुण्ड्याइएजस्तो देखिने उनको भनाइ छ । चक्रले प्रहरीले घटनाको ढाकछोपका लागि आत्महत्याभन्ने देखाएर तथ्य बङ्ग्याउने काम गरेको बताए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले कोठाभित्रबाट चुक्कुल लगाएको अवस्थामा शव भेटिएको जनाएको छ ।

मृतकका हजुरबुवा देवीप्रसाद गिरीले कोठाभित्रको पंखामा सल झुण्डिएको र शव भने ओछ्यानमा भेटिएको बताए । देवीप्रसादका अनुसार सुरुमा भित्रबाट चुक्कुल लगाएर आत्महत्या गरेको अवस्थामा शव भेटिएको भन्दै आइतबार बिहान ७ बजेतिर खबर गरिएको थियो । ‘माइती पक्ष नआइकन ढोका नखोल्नु भनेका थियौँ । तर हामी पुग्दा नातिनी मृत फेला परेको भनिएको कोठा खुल्लै थियो,’ उनले भने, ‘घटनालाई सामान्य मान्न सकिँदैन । पीडितलाई न्याय दिलाउन लाग्नुपर्नेमा घटना ढाकछोपतिर लागेकाले प्रहरीकै भूमिका शंकास्पद देखियो ।’

यसैबीच प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाएर न्यायको माग गर्दै मृतकका आफन्तले मंगलबार इलाका प्रहरी कार्यालय बेलबारी घेराउ गरेका छन् । प्रहरीको अनुसन्धान निष्पक्ष हुन नसकेको गुनासो गर्दै दोषीमाथि कारबाहीको माग राखेर उनीहरुले प्रहरी कार्यालय घेराउ गरेका हुन् । देवीप्रसादले घटनाको अनुसन्धान निष्पक्ष हुनुपर्ने र दोषीमाथि कारबाही अघि बढाइनुपर्ने माग गरे । हत्यापछि आत्महत्या देखाउनलाई झुण्ड्याइएको हुनसक्ने बताउँदै उनले प्रहरीले पनि हप्कीदप्की गर्दै पीडित पक्षलाई तर्साउने काम गरिरहेको गुनासो पोखे ।

मोरङको उर्लाबारी नगरपालिका–८ माइती भएकी रोजिनाको अघिल्लो वर्षको असारमा विनोदप्रसाद काफ्लेसँग अन्तरजातीय प्रेम विवाह भएको थियो । उनीहरुका सन्तान भएका थिएनन् । बिहेपछि विनोद वैदेशिक रोजगारीका लागि दुवई गएकाथिए । पत्नीको शंकास्पद मृत्युको खबर पाएपछि उनीँ मंगलबार आइपुगेका छन । घटनामा संलग्न भएको भन्दै रोजिनाकी सासू ५३ वर्षीया दानमाया काफ्ले, जेठाजु ३४ वर्षीय पुष्पराज काफ्ले र जेठानी ३२ वर्षीया लक्ष्मी काफ्लेविरुद्ध माइती पक्षले किटानी जाहेरी दिएका छन् । तर पीडकको सहयोगीको भूमिकामा देखिएको प्रहरीले जाहेरी नै दर्ता गर्न नमानेको देवीप्रसादले बताए । अन्तरजातीय बिहे छुटाउनका लागि यस्तो घटना गराइएको आरोप माइती पक्षको छ ।

शव पोस्टमार्टका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले अनुसन्धान भइरहेको र पोस्टमार्टमा रिपोर्ट आइसकेपछि घटनाका बारेमा धेरै कुरा प्रष्ट हुने बताए । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि जाहेरी दर्ताका विषयमा निर्णय लिइने उनको भनाइ छ ।