विराटनगर-  नेपाल सरकारका सहसचिव काशीराज दाहालले मंगलबारदेखि मोरङमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को कार्यभार सम्हाल्दै छन । प्रदेश २ को अर्थ सचिवमा कार्यरत दाहालको गत बिहीबार मोरङको प्रजिअका रूपमा सरुवा भएको हो । उनि सोमबार बेलुका विराटनगर आइपगेकाछन । मंगलबारदेखि प्रजिअका रूपमा जिल्ला प्रशासन कार्यालयमा हाजिर भएर उनले काम कारबाही सुरु गर्दै जिम्मेवारी सम्हाल्ने छन ।

पहिलो दिन कार्यालयका कर्मचारीसँग प्रजिअ दाहालले छलफल राखेकाछन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको प्रमुख भएर काम गरिसकेका उनिसँग अख्तियारको केन्द्रीय कार्यालयमा पनि काम गरेको अनुभव छ । यातायात विभागको महानिर्देशक पनि बनिसकेका  प्रशासक दाहालले कृषि एवं स्वास्थ्य मन्त्रालयमा पनि रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन । २०५२ सालदेखि २०६६ सम्म उनँले विभिन्न जिल्लामा प्रशासकीय अधिकृत र प्रजिअ बनेर काम गरिसकेका छन । दाहाल खोटाङ, सिन्धुली र धनुषामा सहायक प्रजिअ एवं ओखलढुंगा र दोलखामा प्रजिअको भूमिका निर्वाह गरिसकेका विवादरहित तथा सफल प्रशासकका रूपमा चिनिन्छन ।

दाहालले जिल्लाको समग्र शान्ति सुरक्षा र नेपाल–भारत सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम कारबाही अघि बढाइने बताए । जिल्लाको विकास निर्माणमा समन्वय, सहकार्य र निगरानीमा विशेष ध्यान दिइने उनको भनाइ छ । संघीय सरकारको प्रतिनिधिका रूपमा प्रदेश एवं स्थानीय सरकारसँग नजिक भएर काम कारबाहीमा समन्वय गरिने जानकारी दाहालले दिए । साथै जिल्ला प्रशासनसहितका विभिन्न कार्यालयको सेवा प्रवाहलाई सहज, चुस्त, प्रभावकारी तथा सेवाग्राही मैत्री बनाइने उनको प्रतिवद्धता छ ।

आफूलाई जनताको सेवामा समर्पित गर्दै सेवाग्राहीको गुनासोको सुनुवाई तत्काल गरिने दाहालको भनाइ छ । कोरोना महामारी नियन्त्रणमा सक्रियपूर्वक लागेर विभिन्न सरकारी एवं निजी अस्पतालले प्रवाह गर्ने सेवाको निगरानी र अनुगमनलाई प्राथमिकतामा राखिने उनँले बताए । दाहालका अनुसार सडक सुरक्षालाई प्राथमिकतामा राख्दै पछिल्लो समय बढ्दै गइरहेको दुर्घटना न्यूनीकरणका लागि विशेष कार्ययोजना बनाएर लागू गरिने छ ।

शान्ति सुरक्षाको अवस्था मजवुत पार्दै मोरङलाई राम्रो बनाउन प्रयासरत रहने दाहालले बताए । गृह मन्त्रालयले एकै पटक गत बिहीबार १४ जना प्रजिअको सरुवा गरेको थियो । त्यही सरुवामा दाहाललाई मोरङको प्रजिअ बनाएर पठाइएको हो । यसअघि मोरङका प्रजिअ रहेका  कोषहरि निरौलाको गृह मन्त्रालयमा सरुवा भएको छ