सङ्खुवासभा—सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरी थप चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

त्यसअघि नै प्रहरीले लोकबहादुरलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । गत भदौ २१ गते सोमबार बिहान मादी नगरपालिका-१ उम्लिङको खोलागाउँमा एकै परिवारको ६ जनाको हत्या भएको थियो ।  उक्त पाँच कार्की दाजुभाइले सामूहिक हत्या गरेको खुल्न आएको हो ।

उनीहरुको तुलनामा आर्थिक रुपमा सम्पन्न तेजबहादुरले खड्गबहादुर र रणबहादुरका परिवारलाई हेपेर ब्यावहार गरेको भन्दै उनीहरुले तेजबहादुरको हत्या गर्ने योजना बनाएका थिए । तेजबहादुरको परिवारको हत्या गरिएको अघिल्लो बेलुका नै खड्गबहादुर र उनका छोरा लालबहादुर रणबहादुरको घरमा आएर हत्याको योजना बनाएको खुल्न आएको अनुसन्धानको नेतृत्व गर्दै आएको संघिय प्रहरी ईकाई धरानका एसपी भिम दाहालले जानकारी दिए ।

भदौ २१ गते विहान धान गोड्ने खेतला माग्न आउने खबर पाएपछि उनीहरुले तेजबहादुरलाई मार्ने योजना बनाएका थिए । तेजबहादुर विहानै रणबहादुरको छोराहरुलाई खेतला माग्न आएर फर्किने क्रममा रणबहादुरका दुई छोरा र खड्गबहादुरका छोरा लालबहादुर गरि तीन जनाले हत्या गरेको खुल्न आएको एसपी दाहालले जानकारी दिए ।

घटनास्थलमा तीन छोराहरु मात्र देखिए पनि मुख्य योजनाकारका रुपमा खड्गबहादुर रहेको र रणबहादुरले पनि हत्यामा सहमती जनाएको खुल्न आएको प्रहरी जनाएको छ । रणबहादुर लड्बराएर बोल्ने र अन्यको तुलनामा बौद्धिकता कम भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा गत असारमा नै तेजबहादुरले रणबहादुरलाई सिध्याउने प्रस्ताव राखेका थिए । त्यसमा पछि मात्र रणबहादुर र उनका छोराहरुले सहमति जनाएको खुल्न आएको छ । तेजबहादुर मात्र उनीहरुको निशानामा रहेपनि अरु परिवारको सदस्यहरुले समेत देखेपछि उनीहरुलाई पनि मारेको खुल्न आएको बताईएको छ । घटना पछि एक जना मात्र दोषी देखाएर अरुलाई उन्मुक्ति दिने योजना अनुसार नै रणबहादुरका जेठा छोरा लोकबहादुरले अपराध स्वीकारेको थियो ।

कार्की परिवारको हत्या आरोपमा साईनोले भतिजो पर्ने छिमेकी लोकबहादुर कार्कीलाई गत भदौ २७ गते आईतबार प्रहरीले पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि लोकबहादुरको भाइ नरेशलाई समेत प्रहरीले पक्राउ गरेको थियो । नरेशकै बयानको आधारमा उनका काकाको परिवारलाई पनि अनुसन्धानमा तानिएको थियो ।

गत भदौ २१ गते सोमबार विहान बर्ष ५८ को तेजबहादुर कार्की, उहाँकी आमा बर्ष ८४ को पार्वता, श्रीमती ५४ को कमला, बर्ष २८ का बुहारी रञ्जना, बर्ष ११ का नाती दिपेन र बर्ष ५ का नातिनी गोमा कार्कीको हत्या गरिएको थियो । मृत्तक बुहारी रञ्जनाको मोबाईल लोक बहादुरको भाई नरेशको साथमा भेटिएपछि उनी माथि अनुसन्धान सुरु गरिएको थियो ।

घटनाको अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो । घटनामा संलग्न लोकबहादुरलाई सार्वजनिक गरिएपछि स्थलगत अनुसन्धानको जिम्मा जिल्लालाई छोडेर फर्किएका थिए । अहिले थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा सहितको टोली घटना स्थलमै खटिएका छन् ।