विराटनगर — मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवती आफ्नै कोठाभित्र मृतावस्थामा फेला परेकी छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र चुकुल लगाएको अवस्थामा स्थानीय २४ वर्षीया रोजिना गिरी मृतावस्थामा फेला परेकी हुन् ।

शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवतीको शव आइतबार बिहान सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष खेमप्रसाद न्यौपानेले खबर पलपललाई जानकारी दिए । 

‘भित्रबाट चुकुल लगाएको अवस्था थियो । मेरो रोहबरमा प्रहरीले ढोका फुटाएर भित्र पस्दा शव भेटिएको हो,’ उनले भने । उनका अनुसार रोजिनाको अनुहारमा निल डाम छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले आइतबार नै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको जानकारी दिए । उनका अनुसार आज शवको पोस्टमार्टम हुनेछ । 

रिपोर्ट आएपछि घटनाको विवरणबारे जानकारी पाइने उनले बताए ।

कोठामा भित्रबाट चुकुल लगाएर लोबेडमा घोप्टो परेको अवस्थामा मृत भेटिएको उनले बताए । शरीर लोबेडमा रहेको भएपनि फेनमा सल बाँधिएको र कोठाको चुक्कुल भित्रबाट लगाएको पाइएकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

यता, माइतीपक्षले भने रोजिनाको आत्महत्या नभइ हत्या भएको हुनसक्ने आशङ्का गरेको छ । उनकी बहिनी मनिषा क्षेत्रीले रोजिनाको अनुहारमा निलडाम प्रष्ट देखिएको र शरीरमा पनि डाम देखिएकाले आत्महत्या नभइ हत्या हुनसक्ने आशङ्का गरेकी छन् ।

उनले सासु, आमाजु र जेठानीको कुटपिटको कारण रोजिनाको मृत्यु भएको हुनसक्ने बताएकी छिन् । प्रहरीले भने झुण्डिएका कारण रगत सोहोरिएर निलडाम हुनसक्ने जनाएको छ ।

रोजिनाको एक वर्षअगाडि मात्र विनोद काफ्लेसँग विवाह भएको थियो । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । उनका अनुसार विनोद सोमबार नै नेपाल आइपुग्ने छन् ।