विराटनगर - संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा भएको एकै परिवारका ६ जनाको बीभत्स हत्या प्रकरण थप पेचिलो बनेर गएको छ । घटनाको थप अनुसन्धान गर्नका लागि अनुसन्धानकर्ता प्रहरीको टोली पुनः घटनास्थल पुगेको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए  ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी पनि घटनास्थल पुग्नु भएको छ । घटना भएदेखि नै घटनास्थलमा खटिएर अनुसन्धान गर्दै हत्यामा संलग्न लोकबहादुरलाई कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेपछि टोली फिर्ता भएको थियो । अनुसन्धानको नेतृत्व लिन प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी आफै घटनास्थल पुगेका थिए । तर पछिल्लो समय तथ्य र प्रमाणका आधारमा घटनाको धेरै कुरा खुल्न थालेपछि अनुसन्धानकर्ता प्रहरी घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका हुन् ।

घटना अनुसन्धानमा प्रहरीको पनि कमजोरी देखिएको छ । गाउँमा भएको यति ठूलो नरहसंहारलाई टुंगोमा नपुर्याकन फर्किनु र पुनः घटनास्थल जानुपर्ने अवस्था आएपछि प्रहरीको अनुसन्धान पनि शंकाको घेरामा परेको हो । कहालीलाग्दो घटना एक जनाले मात्रै गराएको कुरा प्रहरीले बाहिर ल्याउँदा जनमानसले विश्वास गरेका थिएनन् । घटनामा एक जनाको मात्रै संलग्नता हुननसक्ने स्थानीयको भनाइ छ । तर लोकबहादुरले मात्रै हत्या गरेको दाबी प्रहरीले गरिरहँदा घटनाले नयाँ मोड लिएपछि प्रहरीको अनुसन्धानमाथि नै छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ । घटनास्थल पुगेको टोलीले हत्या गरिएका तेजबहादुर कार्कीका चार जना छिमेकीहरुलाई गय राति नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुलाई इलाका प्रहरी कार्यालय चैनपुरमा पुर्याइएको बताइएको छ । चार जनालाई सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पुष्टि एसपी राईले गरे । नियन्त्रणमा लिइएकाहरुको घटनामा संलग्नता हो या हैनभन्ने यकिन हुन बाँकी रहेको प्रहरी स्रोतले बतायो । ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेशलाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ । तर सार्वजनिक भने गरेको छैन । अदालतबाट पक्राउ पूर्जी जारी नगरिकन नियन्त्रणमा लिइएका कारण उनका बारेमा प्रहरीले बताउन नचाहेको हुनसक्ने आशंका गरिएको छ ।

हत्या गरिएकीमध्ये रञ्जना कार्कीको मोबाइल लुकाएर राखेको पाइएपछि लोकबहादुरका भाइ नरेशलाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन एवं सोधपुछ गरिरहेको हो । नरेशलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेपछि घटनाका बारेमा केही नयाँ तथ्य बाहिर आएकाले अरु चार जनामाथि पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको हो । घटनाको अनुसन्धानका लागि १० जनाको प्रहरी टोली भने घटनास्थलमै रहेको थियो ।

बीभत्स हत्याका बारेमा थप विषय खुल्न थालेपछि अनुसन्धानमा विशेषज्ञता हासिल गरेका प्रहरी अधिकारी पुनः घटनास्थल पुगेका हुन् । तेजबहादुर कार्कीसहित उनका परिवारका ६ जनाको हत्या गरेको अवस्थामा गत भदौ २१ गते बिहान छरपस्ट शवहरु भेटिएका थिए ।