विराटनगर-  मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले कुटपिट एवं लुटपाट र सवारी ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि फरार रहेकालाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार अदालतको फैसला अनुसार कैद सजाय र जरिवाना भुक्तान नगरिकन भागिरहेकालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये १० जना कुटपिट एवं लुटपाट र एक जना सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेको उहाँले बताउनु भयो । एकै पटक ११ जनालाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत मोरङमा पेस गरिएको जानकारी श्रेष्ठले दिए ।

मोरङको सुनवर्षी नगरपालिका–६ का ५३ वर्षीय रमेश भुजेल, २३ वर्षीय सुरज भुजेल, ५८ वर्षीय उसमान मियाँ, २८ वर्षीय रमजान मियाँ, ४८ वर्षीय अञ्जु खातुन, ४८ वर्षीय उवारन खातुन, ३० वर्षीय अब्बास मियाँ, २७ वर्षीय फुच्चे मियाँ, ३१ वर्षीय कैलु मियाँ र ३५ वर्षीय सहजवी खातुन पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत मोरङले २०७३ साल असार १२ गते कुटपिट एवं लुटपाट मुद्दामा दोषी ठहर गरेको थियो ।

त्यस्तै सवारी ज्यान मुद्दामा मोरङ अदालतबाट ५ महिना कैद र ५ हजार रूपैयाँ जरिवानाको फैसाल भए पनि फरार रहेका रंगेली नगरपालिका–२ का ३५ वर्षीय सत्यलाल उरावलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  डीएसपी श्रेष्ठका अनुसार उरावलाई २०७० साल पुस १४ गते मोरङ अदालतले कैद र जरिवानाको फैसला सुनाएको हो ।