विराटनगर-  प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले सहकारीले  समाजमा समृद्धि कायम गर्न  आयआर्जन कार्यमा  लगानी  गर्नुपर्ने बताएका छन । राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लि, वुढीगंगा–१ टंकीसिनवारी मोरङको २१ औं बार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उनले विश्वका धेरै मुलुक सहकारीको माध्यमबाट समृद्ध राष्ट्र भएको उदाहरण रहेकोले तालीम सञ्चालन गरी स्वरोजगार कार्यमा ध्यान केन्द्रीत गर्नु पर्ने  आवश्यक्त्ता औल्याए ।

प्रदेश प्रमुख अधिकारीले सहकारी भनेको सहकार्य, सहयात्रा, साझा स्वामित्व भएकोले एक आपसमा विश्वासिलो बातावरण कायम गरी घर, टोल, समाज राष्ट्रलाई समृद्धि बनाउने अभियानमा जुट्न आग्रह गरे । संस्थाकी अध्यक्ष तारादेवी राई, नेकपा एमाले प्रदेश १ का सचिव विनोद ढकाल, राष्ट्रिय सहकारी बैंकका रमेशप्रसाद पोखरेल, जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल लगायतले सफल सहकारी सञ्चालनमा महिलाको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले सहकारीका ७५ वर्ष उमेरका जेष्ठ नागरिक ६९ जना, जेष्ठ महिला सहकारी सदस्य आठ र एकल महिला शेयर सदस्य १२ गरी ८९ जनालाई दोसल्ला एवं सम्मानपत्रद्वारा सम्मानित गरे । वि.स. २०५७ मा ९५ सदस्यहरुबाट २० रुपैया संकलन गरि सञ्चालन गरिएको सो सहकारीमा अहिले समावेशीको आधारमा ९०२ जना शेयर सदस्यहरु रहेका छन् । शेयर सदस्यहरुमध्ये महिला ९०० रहेका छन् । संस्थाले चाल आर्थिक बर्षको अहिलेसम्म १० करोड ५३ लाख ३९ हजार ४२७ बचत संकलन गरेको तथ्याङकमा उल्लेख गरिएको छ । नेपालमा ७२ लाख मानिस सहकारीका सदस्य रहेका छन् ।