विराटनगर-  प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले आफुलाई शैक्षिक अभियान्ता भन्नेहरूले निजी विद्यालयहरू धराप बनाउन लागि परेको आरोप लगाएकाछन । प्याब्सन नगर समिति विराटनगरको बिहिबार भएको अधिवेशनको उदघाटन गर्दै अध्यक्ष पुरीले शैक्षिक अभियान्ता भन्नेहरू सुनियोजित रूपमा निजी विद्यालयहरू धराप बनाउन लागि परेको बताए । कुनै सरोकार नभएका व्यक्तिहरू अहिले निजी विद्यालयहरूको विरोधमा लागि परेको उनको भनाई छ । ‘सरोकारवाला हाम्रो अभिभावक भएको भए हामी मान्छौं ।

तर, कुनै रिलेसन नभएका र सम्बन्ध लगाएर हाम्रो विरोध गर्नेको अब हामीले खबरदारी गरेर अगाडी बढनुपर्ने बेला आएको छ,’ उनले भने । अध्यक्ष पुरीले स्थानिय सरकारलाई र जनप्रतिनधीलाई शिक्षा नीति निर्माणमा सहजता प्रदान गराउन नगर प्याब्सन पनि लाग्नुपर्ने बताए । अध्यक्ष पुरीले अब नगर जिल्ला हुदै प्रदेश प्याब्सनको अधिवेशन पनि हुदै केन्द्रीय अधिवेशन पनि क्रमश हुदै जाने बताए । उनले केन्द्रीय कार्य समितिको बैठकले मंसिरमा जिल्ला र पुसमा प्रदेश प्याब्सनको अधिवेशन भइ नयाँ नेतृत्व चयन हुदै जाने जानकारी गराए ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन केन्द्रीय सचिब राजेश कुमार दास, प्याब्सनको सल्लाहाकार डा. उद्धब पोखरेल, केन्द्रीय सदस्य बासुदेव न्यौपाने, एन प्याब्सनका राजन छाराहाङ, विराटनगर प्याब्सनका अध्यक्ष इन्द्र राई, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाललगायले बोलेकाथिए ।