विराटनगर-  प्रहरीले विराटनगरबाट अवैध सामानसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध सामानसहित विराटनगर महानगरपालिका–९ का ३२ वर्षीय नवीन जैनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार तस्करी गरेर ल्याएको सामान भण्डारण गर्ने गरेको सूचनाका आधारमा जैनले सञ्चालन गरेको गोदाममा छापा मारिएको थियो ।

गोदाममा पाँच लाख ६५ हजार आठ सय पाँच रूपैयाँ बराबरको अवैध सामान फेला परेपछि जैनलाई पनि पक्राउ गरिएको जानकारी श्रेष्ठले दिए । उनका अनुसार जैनको गोदामबाट एक सय ८२ वटा काटुनमा रहेको दुई हजार एक सय ८४ किलो मिसिरी, १४ वटा काटुनमा रहेको एक सय ४० किलो काजु, तीन सय ७५ किलो पापड र ३० वटा बोरामा रहेको २४ किलो पानीपुरी बरामद गरिएको छ ।

दुई लाख ६२ हजार ८० रूपैयाँ बराबरको मिसिरी, एक लाख ८२ हजारको काजु, ९३ हजार छ सयको पानीपुरी र २८ हजार एक सय १५ रूपैयाँ बराबरको पापड बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको पाँच लाख ६५ हजार आठ सय पाँच रूपैयाँ बराबरको अवैध सामानसहित गोदाम सञ्चालक जैनलाई आवश्यक कारबाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाइएको डीएसपी श्रेष्ठले बताए ।