विराटनगर-अन्तराष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य बढेका कारण नेपालमा समेत त्यसको असर परेकाले उपभोक्तालाई राहत दिन सरकारले भन्सार शुल्क घटाउनु पर्ने उद्योगीले माग गरेका छन । भारतले खाने तेलको मूल्य बृद्धिपछि दुई पटक भन्सार शुल्क घटाएको छ । 


अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धि, ढुवानीको भाडा र प्याकिङ सामाग्रीको मूल्य बढेका कारण नेपालमा खानेतेलको मूल्य बृद्धि भएको नेपाल बनस्पती ध्यू तेल उत्पादक संघले जनाएको छ । उद्योगहरुले मनोमानी रुपमा खानेतेलको मूल्य बढाए भन्ने गुनासो बढेपछि संघले विज्ञप्ती मार्फत तेलको मूल्य बृद्धिको कारण खुलाएको हो । 



संघका अध्यक्ष सन्दिपकुमार अग्रवालले संघसंग आवद्ध २० उद्योगले मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गरि तयारी बस्तु स्थानिय बजार र निकासी समेत गर्दै आएकोमा केही समय देखी कच्चा पदार्थको अस्वभाविक मूल्यबृद्धि र ढुवानी भाडाको कारण उत्पादन लागत बढ्न गएकाले मूल्य बृद्धि भएको बताएका छन ।  


अन्तराष्ट्रिय वजारवाट कच्चा पदार्थ आयात गर्दा अन्तराष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने भएकाले २० महिना देखी नै कोरोनाको कारण क्रुड तेल उत्पादन हुने देशहरुमा भएको भीषण सुख्खाको कारण र अन्य राजनीतिक समस्याहरुले खाने तेलको मुल्यमा अस्वाभाविक रुपमा बढ्न भएको अग्रवालले बताए । नेपाल मात्र नभएर भारत लगायत अन्य मुलुकमा समेत खाने तेलको मूल्य बृद्धि भएको उनले खुलाए । 


त्यसैगरि नेपाल उद्योग बाणीज्य महासंघ केन्द्रिय सदस्य तथा एभरेष्ट सोलभेन्टका संचालक अविनाश बोहोराले अन्तराष्ट्रिय कच्चा पदार्थमा आधारित उद्योगहरु भएकाले अन्तराट्रिय बजारमा कच्चा पदार्थमा हुने उतारचढावले यहाको बजार समेत प्रभावित हुने बताए । 


कोभिडको महामारी, अन्तराष्ट्रिय स्तरमा बढेको ढुवानी भाडा र प्याकिङ सामाग्रीको समेत मूल्य बढेकाले अहिले खानेतेलको मूल्य बढेको हो । मूल्य बढ्दा जहिले पनि उद्योगीहरु मात्रै निशानामा पर्ने गरेको बताउदै बोहोराले सरकारले उपभोक्ताको हितको लागि भन्सार शुल्क घटाउनु पर्ने बताए । भारत सरकारले अहिले खानेतेलको मूल्य बढेपछि उपभोक्तालाई मार नपरोश भनेर दुई दुई पटक भन्सार शूल्क घटाएको छ तर नेपाल सरकारले किन त्यसो गर्न सकिरहेको छैन । भोलि समान्य अवस्थामा मूल्य फर्केपछि पुन भन्सार लगायतको ट्याक्स लगाउदा हुने उनले सुझाए । 


सन् २०२० को अप्रिलबाट सोयाविन, सनप्लावर र तोरीको तेलेको अन्तराष्ट्रिय बजारमा मूल्य बृद्धि हुन थालेको हो । अप्रिलमा ५८९ डलर प्रति टन मूल्य भएको क्रुड सोयाविन तेल सन् २०२१ मे महिनासम्ममा १३६३ डलर प्रति टन पुगेको उद्योग संगठनका कोषाध्यक्ष तथा क्वालिटि आयल रिफाइनरी संचालक विपिन कावराले बताए । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा तेलको मुल्य घटेपछि बजारमा पनि खानेतेलको मूल्य घटिरहेको उनले उल्लेख गरे । 

एक वर्षअघि ७०४ डलरमा युक्रेनबाट ल्याएको कु्रड सनफ्लावरको तेलको मुल्यमा वृद्धि भई मे २०२१ मा प्रति मेट्रिक टन १४ सय ९५ पुग्योे । जसमा युरोपबाट प्रकाशित हुने आयल वल्र्डको २८ मे २०२१ को डकुमेन्टमा समेत यो जानकारी  स्पष्ट रुपमा उल्लेख भएको कावराले बताए । त्यसैगरी २०२१ जुलाई २ मा प्रकाशित आयल वल्र्ड रिपोर्टमा एक महिनामा कु्रड सोयाविनको तेलको मूल्य प्रति मेट्रिन टन १ हजार ९५ डलर र सनफ्लावर तेलको मूल्य ११ सय ६० डर मूल्यमा झरेको थियो ।


अन्तर्राष्ट्रिय बजारमा मुल्य घट्दा उद्योगहरूसँग उच्च मुल्यको कच्चा पदार्थको मौज्दात हुँदाहुदै अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेकोले उद्योगहरूले वाणिज्य विभागको समन्वयमा अन्तर्राष्ट्रिय बजारको परिपाटि अनुसार नै क्रमशः स्थानिय बजारमा समेत मुल्य घटाई आफ्ना उत्पादनहरु बिक्री वितरण गरेको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।  


खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत छ । १७ महिनामा कच्चा पदार्थको मुल्यमा भएको दोब्वर भन्दा वढि मूल्यवृद्धिका कारण गत वर्षमा महशुल सरदर २० रुपैया प्रति लिटर रहेकोमा हाल सरदर ४५ रुपैयाँ भन्दा वढी पुगेको छ । 


कोभिड-१९ को कारण ढुवानीमा पर्न गएको असरले गर्दा ढुवानी भाडा वृद्धि हुन गएको, डिजल पेट्रोलको मुल्यमा वृद्धि भएको तथा पहिले भन्दा ढुवानीको समय दोव्वर हुन पुगेकोले अन्तराष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खानेतेलको मुल्यमा प्रति लिटर सरदर २० रुपैयाँ देखी २५ रुपैयाँ सम्म वृद्धि हुन पुगेको हो । सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्य समेत अन्तराष्ट्रिय बजारमा भएको मूल्य बृद्धिको असर यहा समेत परेको छ ।