विराटनगर -  प्रतिमान निमा स्मृति फाउण्डेशनले आज प्रदेश १ सरकारलाई १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फाउण्डेसनले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री भीम आचार्यलाई सामग्री प्रदान गरेको हो । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको फाउण्डेशनले जनाएको छ ।

अमेरिकी गैर सरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा फाउण्डेशनले विभिन्न ११ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । सो क्रममा मुख्यमन्त्री आचार्यले फाउण्डेशनको सामाजिक सेवा उल्लेखनीय भएको बताए  । २००७ सालका क्रान्तिका योद्धा प्रतिमान चन्द्र बोहोराको स्मृतिमा बोहोरा परिवारले फाउण्डेशनमार्फत स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको मुख्यमन्त्री आचार्यले बताए ।

फाउण्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले आगामी दिनमा प्रदेश सरकारसँग समन्वय गर्दै कोरोना महामारीसँग लड्न र बच्नका लागि आवश्यक पर्ने थप सामग्री, प्रशिक्षण लगायतको सहयोग गरिने बताए  । फाउण्डेसनले स्वास्थ्यकर्मीले लगाउने गाउन २ हजार ४ सय थान, फेसशिल्ड २ हजार ३ सय ३२ थान, मास्क ८ हजार ४ सय  थान, एन ९५ डिस्पोजेबल मास्क १ हजार ८ सय थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टिभ फेसशिल्ड १ हजार ८ सय ९० थान, पीपीई  सेट ५ सय ५२ सेट, इमरजेन्सी रिलिफ बेड ४ थान, पञ्जा १ लाख थान, केएन ९५ प्रोटेक्टिभ मास्क १५ हजार ३ सय ६० थान सहयोग गरेको छ ।

कार्यक्रममा समाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्रीलगायतको उपस्थिति रहेको थियो । संस्थाले यस अघि ५ वटा प्रदेशमा यस्ता स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ । केही दिनमा लुम्बिनी प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको कार्यकारी थापाले जानकारी दिए ।