विराटनगर-  बालदिवसकै अवसरमा विराटनगरस्थित ग्रामीण विकास समाज केन्द्रले १ सय ५० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।समाजले विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न समुदायका १ सय ५० जना छात्रछात्रालाई स्कुल ब्यागसहितका शैक्षिक सामग्री वितरण गरेको हो ।

स्कुल परिसरमा आज आयोजित बालदिवस विशेष कार्यक्रमका बीच प्रदेश एकका सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले समाजको तर्फबाट विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरे। सो अवसरमा बोल्नुहुँदै मन्त्री साम्सोहाङले बालबालिकाहरु देशको भविष्य रहेको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा थप कामहरु गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले विपन्न नागरीकहरुको उत्थानमा ध्यान नदिएसम्म समग्र बालबालिकाहरुको भविष्य उज्वल बनाउन नसकिने धारणा समेत ब्यक्त गरे ।

सो अवसरमा आयोजक संस्था एनआरडिएससीका अध्यक्ष मणिकुमार अज्र्यालले विपन्न समुदायका बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यसहित १ लाख राशीको अक्षयकोष स्थापना गर्ने घोषणासमेत गरे। उनले आफ्ना आमाबाबुको नाममा स्थापना गरिने गुणागोपाल स्मृति प्रतिष्ठानबाट बर्षेनी विपन्न छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिने बताए ।

आयोजक संस्थाका उपाध्यक्ष भुवनेश्वर मण्डलले आफ्नो संस्थाले स्थापनाकालदेखि नै बालबालिका तथा प्रौढ शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । कार्यक्रमका सहभागी विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामत, एनजिओ फेडरेसनका मोरङ अध्यक्ष राजेन्द्र ढकाल र विद्यालयका प्रधानाध्यापक गोबिन्द गजुरेल लगायतले समेत बालदिवसको महत्वका बिषयमा आफ्नो भनाई राखेकाथिए।