विराटनगर- जनप्रतिनिधि र स्थानीयको विरोधका कारण विराटनगरका विभिन्न स्थानमा निर्माण गर्ने भनिएका आकाशे पुलको काम रोकिएको छ । पुल निर्माण थाल्न लाग्दा विरोध सुरु भएको छ । सडक यात्रुको सहजता र सुरक्षाका लागि निर्माण कार्य अघि बढाउनलाई गत वर्ष चैतमा आकाशे पुलको शिलान्यास गरिएको थियो ।

पछिल्लो समय महानगरको प्राविधिक टोलीले सर्भे गर्दै विराटनगरको कन्चनबारी, बरगाछी र बसपार्कमा पुल निर्माणको प्रक्रिया अघि बढाएको थियो । तर केही जनप्रतिनिधि र स्थानीयले अवरोध गरिदिएको विराटनगर महानगरपालिकाले जनाएको छ । मेयर भीम पराजुलीले नगरको सुन्दरता र जनताको सुरक्षासंँग जोडिएको पुल निर्माण अघि बढ्न नदिनु आश्चर्यजनक भएको बताए। प्राविधिक टोलीले उपयुक्त स्थान चयन गरेपछि पुल निर्माण अघि बढाउन लाग्दा अवरोध भएको उनको भनाइ छ । विवादित विषयको हल गरेर पुल निर्माणको काम अघि बढाइने जानकारी पराजुलीले दिएका छन ।

उनले संरचना निर्माणमा असहयोग नगर्न सबैमा अनुरोध गरे । बरगाछी र बसपार्कमा पुल निर्माणको जिम्मा लिएको कला विल्डर्सका सञ्चालक सञ्जय यादवले अवरोध नभएमा निर्धारित मितिमै काम सकिने बताए । कोरोना महामारीका कारण शिलान्यास भएको करिब ५ महिनापछि पुलको जग बसाउने कार्य सुरु भएको जानकारी उनले दिए । यादवले बरगाछी र बसपार्कमा पुल निर्माणका लागि भ्याटसहित १ करोड ७९ लाख ८४ हजार रुपैयाँमा सम्झौता भाएको जानकारी दिए ।

विराटनगरको घाँस चौकमा प्रदेश सरकार, महानगरपालिका, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा पुल निर्माण गर्ने भएपछि महानगरपालिकाले बसपार्कतर्फ स्थान परिवर्तन गरेको थियो । पुल निर्माण स्थलमा कलेज, विद्यालय तथा बसपार्क रहेकाले उक्त स्थान उपयुक्त हुने महानगरको दाबी छ ।

महानगरपालिकाका अनुसार तीनवटा आकाशे पुल निर्माणका लागि २ करोड ४७ लाख रुपैयाँ खर्च हुने अनुमान छ । निर्माणको जिम्मा दुईवटा निर्माण कम्पनीले लिएका छन् । महानगरपालिकाले पुल निर्माणका लागि २०७६ साल फागुनमा टेण्डर आह्वान गरेको थियो । टेण्डर आह्वानपछि निर्माण व्यवसायीसँग २०७८ मंसिरभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको महानगरले जनाएको छ ।