मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव मङ्गलबार एक दिनका लागि गाउँपालिका प्रमुख हुने भएकी छन् । ५७औँ राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम मङ्गलबार उनले गर्ने भएकी हुन् ।

राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीका अनुसार स्थानीय सरकार के हो र यसले कसरी काम गर्छभन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उदेश्यले बालिकालाई एक दिने जिम्मेवारी दिएर गाउँपालिका प्रमुख बनाउन लागिएको हो ।

बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउने र राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नवीन रूपमा मनाउने योजना अनुसार कार्यक्रम तय गरिएको हो । भदौ २९ गते गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने कार्यक्रम गर्न लागिएको उनले बताए ।

बूढीगङ्गा गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले राष्ट्रिय बालदिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक साङ्केतिक रुपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार मङ्गलबार बिहान १० बजे गाउँपालिका अध्यक्षबाटै सुस्मिता अध्यक्षका लागि छनोट हुनेछिन् ।

गाउँपालिका अध्यक्षको जिम्मेवारी प्रदान गरिएको प्रमाणपत्र दिएर उनलाई अध्यक्षको पदभार ग्रहण गराइने कार्यक्रम रहेको अधिकारीले बताए । कार्यपालिकाको बैठकपछि नजिकको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गर्ने र अनुगमनपछि गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिहरूको समेतको उपस्थितिमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने छ ।

कार्यक्रमको सहजीकरण राष्ट्रिय बालअधिकार परिषदले गर्ने र व्यवस्थापन तथा समन्वय बाल हेल्पलाइन १०९८ मोरङ र प्रदेश बालबालिका खोजतलास तथा संरक्षण केन्द्र १०४ ले गर्ने अधिकारीको भनाइ छ ।