विराटनगर— धनकुटा साँगुरीगढी गाउँपालिकामा बसलाई ओभरटेक गर्दा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोसी राजमार्गस्थि साँगुरीगढी–६ मालबाँसेमा भएको उक्त दुर्घटनामा धनकुटा सहिदभूमि गाउँपालिका–४ का ३६ वर्षीय गणेशमान राईको मृत्यु भएको हो । 

आइतबार साँझ पौने ५ बजे सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको धनकुटा प्रहरीले जनाएको छ ।

ओभरटेक गर्नेक्रममा मोटरसाइकल बसमा ठक्कर खाएको थियो । जसमा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, मोटरसाइकल चालक इलाम चुलाचुली गाउँपालिका–६ का ३३ वर्षीय रत्नकुमार राई घाइते भएका छन् । घाइते उनको बिपी प्रतिष्ठानमा उपचार भइररहेको छ । 

बस र बस चालक सुनसरी धरान १३ का ५८ वर्षीय कृष्णबहादुर पाख्रिन इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेका छन् । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।