सङ्खुवासभाको मादी नगरपालिका–१ मा गत सोमबार (भदौ २१ गते) भएको एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संग्लग्न २५ वर्षीय लोकबहादुर कार्कीलाई आइतबार प्रहरीले सावर्जनिक गरेको छ । कार्कीलाई भाद्र २१ गते छिमेकी तथा नातामा ठुलो बुबा पर्ने ५५ वर्षीय तेजबहादुर कार्की, ठुलीआमा ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, ३२ वर्षीया भाउजु रञ्जना कार्की, ८ वर्षीय भतिजा विपिन भनिने दिपेन कार्की, ५ वर्षीया भतिजी गोमा कार्की र हजुरआमा ८४ वर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । 


२१ गते बिहान करिब साँढे ६ बजेको समयमा कार्की परिवारको हत्या भएको भन्ने खबर प्राप्त भएसँगै तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले सङ्घीय प्रहरी ईकाई कार्यालय धरानबाट डगसहितको प्रहरी टोली, १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली तथा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीसँग समन्व गरेर अनुसन्धान थालेको थियो । 


यस्तै, अनुसन्धानको नेतृत्व गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सङ्खुवासभा पुगेका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीसहितको अनुसन्धान टोलीले सामूहिक हत्यामा संग्लग्न रहेका कार्कीलाई घटना भएको छैटौँ दिनमा पक्राउ गरी प्रदेश प्रहरी प्रमुखसहितको उपस्थितीमा आज इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।  


पक्राउ परेका कार्की वैदेशिक रोजगारीको सिलसिलामा पटकपटक विदेश गएता पनि स्थास्थ्यमा समस्या आएपछि घर फर्किएर बसिरहेको थिए । आफू विदेशमा रहँदा केही कमाउन नसकेकोप्रति हिनताबोध भई समय समयमा विक्षिप्त हुने गरेको र आफैँ आक्रोसमा आएर परिवारकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

 

मृतक तेजबहादुर कार्कीले समय समयमा सम्झाइबुझाइ गर्दै आइरहेका थिए । घटना भएको दिन पनि बिहान तेजबहादुर लोकबहादुरको घरमा खेताला भन्न गई फर्कँदै थिए । त्यसबेलै लोकबहादुरले बिगतमा आफूलाई सम्झाइबुझाई गरेको शब्दहरूलाई गालीगलौजको रूपमा लिइ तत्काल आवेशमा आइनजिकै रहेको दाउराको चिर्पटले टाउको पछाडि प्रहार गरी हत्या गरेका थिए । 


त्यसपछि तेजबहादुरले गुहार माग्दा पत्नि र बुहारीसमेत घटनास्थलमा पुगेका थिए । उनीहरूलाई समेत प्रहार गरेको साथै घर नजिक बाटोको डिलमा रहेका दुई जना नाबालकलाई समेत चिर्पटले प्रहार गरी हत्या गरेका थिए । 


पाँच जनाको हत्या गरेपछि घरमा रहेकी वृद्धा हजुरआमा पार्वता कार्कीलाई कपालमा समातेर भित्तामा टाउको ठोकाई हत्या गरी घटनामा प्रयोग भएको दाउरा घरमा लगेर आगो बालेका थिए । सुरुमा तेज बहादुरको हत्या गरेका लोकबहादुरले तेजबहादुरको हत्या गरेको घर परिवारका अन्य सदस्यले समेत देखेको हुँदा घटनालाई ढाकछोप गर्न परिवारकै हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका कार्कीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।