विराटनगर-  विराटनगरको रानी क्षेत्रबाट सशस्त्र प्रहरीले तस्करीको औषधि बरामद गरेको छ । लगभग १९ लाख मूल्य बराबरको ११ प्रकारका औषधि बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए ।

उनका अनुसार डेक्समिडाइन, टिगेवेस्ट, टिकोवाक्ट, कुटेनोक्स, डोटामिन, निप्रेसलगायतका औषधि बरामद गरिएको हो । दुईवटा काटुनमा झाडीमा लुकाएर राखेको अवस्थामा विराटनगर महानगरपालिका–१६ रानीबाट औषधि बरामद भएको जानकारी एसपी पौडेलले दिए । उनका अनुसार बेवारिसे अवस्थामा भेटिएका औषधि तस्करी गरेर भन्सार छल्दै भारतको जोगवनीदेखि ल्याइएको हुनसक्छ ।

तर औषधि तस्करीमा संलग्नहरुको पहिचान हुन नसकेको उनले बताए । सशस्त्र प्रहरीले औषधिलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि आईतबार औषधि व्यवस्था विभागमा बुझाएको छ । विभागका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काका अनुसार कोरोना सङ्क्रमित, हट्अट्याक भएका, मुटुको समस्या रहेका र शरीरमा रगत जम्ने समस्या देखिने बिरामीको उपचारमा यस्ता औषधि प्रयोग हुन्छन् । औषधिका बारेमा आवश्यक अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।