विराटनगर— सङ्खुवासभा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई सर्वाजनिक गरेको हो ।


उनलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।


प्रहरीका अनुसार तेजबहादुरले लोकेले मार्यो, गुहार भन्दै कराएपछि श्रीमती कमला र बुहारी रञ्जना घटनास्थलतर्फ गएका थिए ।  कमला र रञ्जनालाई देखेपछि लोकबहादुरले घटनाको पोल खुल्ने डरले पहिले कमलामाथि दाउरा प्रहार गरेका थिए । लगतै उनले बुहरी रञ्जनामाथि पनि प्रहार गरे । तीन जनामाथि आक्रमण गरेको दुई बालबालिकाले पनि देखेपछि उनीहरूलाई लखेट्दै हत्या गरेको प्रहरीले बताएको छ । गुहारको मागेको सुनेको र देखेको हुनसक्ने डरले लोकबहादुरले घरमा गाईवस्तुलाई कुँडो पकाइरहेकी पार्वतीमाथि आक्रमण गरेको  प्रहरीले बताएको छ ।

प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा लोकबहादुरले एक जनाको मात्रै हत्या गर्ने योजना भएपनि  घटनाको पोल खुल्ने डरले सबैको हत्या गरेको बताएका छन् ।