विराटनगर-  संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा भएको दर्दनाक हत्या प्रकरणको विस्तृत विवरण प्रहरीले आज बिहान सार्वजनिक गर्दै छ । एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएको घटनाको अनुसन्धानमा प्रहरीले प्राप्त गरेको उपलब्धिसहितको विवरण सार्वजनिक गर्न लागिएको हो । त्यसका लागि प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीको उपस्थितिमा बिहान १० बजे संखुवासभाकै इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन राखिएको छ । हत्यामा पारिवारिक नाता सम्बन्धका २५ वर्षीय लोकबहादुर कार्कीको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

घटनाको सुरुवातदेखिका सबै विवरणसहित मुख्य अभियुक्त भनिएका लोकबहादुरलाई सार्वजनिक गरिने बीसीले बताए । ‘प्रारम्भिक अनुसन्धानबाट लोकबहादुर एक्लैले चिर्पट दाउराले प्रहार गरेर पारिवारिक नाता सम्बन्धका ६ जनाको हत्या गरेको देखिन्छ,’ उनँले भने ‘घटनामा अरुको संलग्नता छ कि छैन भन्ने कुरा थप अनुसन्धानपछि पुष्टि हुँदै जाने छ ।’ स्थानीयले भने छोटो समयमा गराइएको घटना लोकबहादुर एक्लैबाट सम्भव नहुने बताइरहेका छन् ।  हत्या गरिएका ५८ वर्षीय तेजबहादुर कार्की लोकबहादुरका पारिवारिक नाताभित्रका बडाबुवा भएको पाइएको छ ।

हत्यापछि लोकबहादुरले सुरुमा आफूले शव देखेको बताएका थिए । पछि अरुले नै शव देखेर खबर गरेको बताए । घटनास्थलमा हत्याको अनुसन्धानमा खटिएका अनुसन्धानकर्ता प्रहरीलाई पनि सहयोग गरेका व्यक्ति उनै लोकबहादुर हुन् । त्यस क्रममा ६ जना आफन्त गुमाउनुपरेकोमा उनी बिलौना गर्थे । घटनाले असुरक्षा बढाएको बताउँथे । सञ्चारकर्मीलाई बारम्बार दिएको अन्तरवार्तामा उनकै कुरा बाझिएपछि प्रहरी अनुसन्धान लोकबहादुर केन्द्रित बनेको थियो । प्रहरीले घटनाका बेला लोकबहादुरले लगाएको सर्ट र हत्यामा प्रयोग गरिएका सामान पनि बरामद भएको जनाएको छ । मादी–१ का बौदमान कार्कीको परिवारका ४ पुस्ता सखाप बनाएको घटनामा लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरिसकेको डीआईजी बीसीको भनाइ छ ।

लोकबहादुर बौदमानका जेठो दाजुका नाति हुन् । बौदमान र लोकबहादुरको घर लगभग डेढदेखि दुई सय मिटरको दूरीमा पर्छ । गत सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर उनले पहिलो पटक तेजबहादुरमाथि आक्रमण गरेको खुलेको छ । त्यसपछि घटना थाहा पाउने परिवारका सबै सदस्यलाई मारेको प्रहरीले बताउँदै आएको छ । तेजबहादुरको हेपाइ सहन नसकेपछि हत्या गरेको बयान प्रहरीलाई लोकबहादुरले दिएका छन् । यस बारेको विस्तृत विवरण प्रहरीले सार्वजनिक गर्ने भएको छ । लोकबहादुर घरमा बाबु र भाइसँगै बस्दै आएको खुलेको छ । गत चैतमा आमाको निधन भएको बताइएको छ । लोकबहादुरविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ ।

बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको गत सोमबार बिहान हत्या भएको हो । घटनाको अनुसन्धान र हत्याराको खोजी एवं पक्राउका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोली खटिएका थिए ।