विराटनगर-  संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोला गाउँमा भएको हत्या प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  एकै परिवारका ६ जनाको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा बौदमान कार्कीका छिमेकीसहित रहेका आफन्त पक्राउ परेका हुन् ।

घटनामा उनले संलग्नता स्वीकार गरिसकेका छन् । पक्राउ परेकाको विवरण प्रहरीले खुलाएको छैन । पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गर्ने तयारी प्रहरीको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बीसीले हत्यामा बौदमानका छिमेकी एवम् आफन्तकै संलग्नता देखिएपछि पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिको घर बौदमानकोबाट लगभग एक सय ५० मिटरको दूरीमा छ । ‘एक जना व्यक्तिलाई पक्राउ गरेर घटनाका बारेमा विस्तृतमा बुझ्ने काम भइरहेको छ,’ बिसीले भने, ‘प्रारम्भिक अनुसन्धानबाट चैँ संलग्नता पुष्टि भइसकेको छ ।

’ घटना भएको ६ दिनपछि प्रहरीले शनिबार बिहानका राति २ बजेतिर हत्यामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको हो । घटनापछि प्रहरीले गाउँघरका धेरैलाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान गरेको थियो । बिसीले घटना के कारणले र कसरी भयोभन्ने बारेमा खुल बाँकी नै रहेको बताए । पक्राउ परेका व्यक्तिको कपडामा रगत लागेको भेटिएको छ । कपडा परीक्षणका लागि प्रहरीले विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरिरहेको छ ।

हत्यामा ती व्यक्तिले प्रयोग गरेको रडसमेत फेला परेको प्रहरीको भनाइ छ । त्यही रडले पछाडिबाट टाउकामा प्रहार गरेर सबैको हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । प्रहरीले घटनामा एक जनाको मात्रै कि अरुको पनि संलग्नता छ भन्ने कुरा खुल्न बाँकी रहेको जनाएको छ । बौदमान कार्कीको परिवारका ६ जनाको हत्या गरेर फ्यालेको अवस्थामा गत सोमबार बिहान शव भेटिएको थियो । घरमा रहेका ७ जनामध्ये ६ जनाको हत्या हुँदा बौदमान मात्रै जीवित भेटिएका हुन् ।

बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोली खटिएका थिए । प्रदेश १ प्रहरी प्रमुख डिआइजी बिसी पनि घटनाको सहजीकरणका लागि मादी पुगे। उनीँ अहिले घटनास्थलमै रहेकाछन ।