विराटनगर- सुनसरीको रामधुनीमा गय राति मोटरसाइकल दुर्घटना हुँदा मोरङको कानेपोखरी घर भएका एक युवाको मृत्यु भएको छ । प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाइकल रामधुनी नगरपालिका–६ मा आँफै अनियन्त्रित भएर राति ११ः५० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोरङको कानेपोखरी गाउँपालिका–६ का १८ वर्षीय रीतिक राईको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कानेपोखरी–६ का २१ वर्षीय निरज राई गम्भीर घाइते भएका छन् । धरानबाट निरजलाई थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको छ ।

मादक पदार्थ सेवन गरेर तीव्र गतिमा चलाउँदा मोटरसाइकल दुर्घटनामा परेको पुष्टि प्रहरीले गरेको छ ।यसैबिच संखुवासभामा जेसिबी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । निर्माणाधीन खाँदबारी–किमाथाङ्का सडक खण्डअन्तर्गत मकालु गाउँपालिका–३ समटारमा रौता कन्स्ट्रक्सनको ज १ ख ४१२ नम्बरको जेसिबी हिजो दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा जेसिबीका सहचालक खाँदबारी नगरपालिका–६ का अन्दाजी २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । सडकबाट अन्दाजी सय मिटर तल खसेको जेसिबी विक आँफैले चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालक भने एक साताअघिदेखि बिदामा बसेको प्रहरीको भनाइ छ । मृतक विकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि साथमा नभएको प्रहरीले जनाएको छ ।