विराटनगर- संखुवासभा हत्या प्रकरणका बारेमा थप जानकारी लिन र त्यहाँको पछिल्लो बस्तुस्थिति बुझ्नलाई प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी घटनास्थलतर्फ लागेकाछन । स्थलगत रूपमै गएर घटनाको वास्तविकता पत्ता लगाएर अनुसन्धानलाई निस्कर्षमा पुर्याउन बीसि बुधबार बिहान विराटनगरबाट घटनास्थलतर्फ गएकाहुन । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा गत सोमबार बिहान एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको थियो ।

बीसीले घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धीको जानकारी लिने छन । साथै अनुसन्धानमा खटिएका प्रहरीलाई हौसला प्रदान गर्दै आगामी अनुसन्धानमा अपनाउनुपर्ने रणनीति एवं प्रहरीले घटनालाई निस्कर्षमा पुर्याउन खेल्नुपर्ने भूमिकाका बारेमा आवश्यक निर्देशन दिने बताइएको छ । आफै घटनास्थल पुगेर डीआईजी बीसीले नेतृत्व लिएपछि दर्दनाक हत्याको अनुसन्धान चाँडै निस्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।  बर्बरतपूर्वक रूपमा ६ जनाको हत्या गरिएको तीन दिन भइसक्दा घटना थप रहस्य बनिरहेको छ ।

अलमलमा परेको प्रहरी अनुसन्धानले कुनै सफलता प्राप्त गर्न सकिरहेको छैन । निरन्तरको वर्षा र भौगोलिक विकटता अनुसन्धानको बाधक बनेको बताइएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले अहिलेसम्म घटनाका बारेमा कुनै संकेत मिल्न नसकेको बताए । तर सबैतिर नाका शिल गर्दै हत्यामा संलग्नको पहिचान र खोजीमा प्रहरी जुटेको उनको भनाइ छ । गाउँले तथा शंकास्पद केही व्यक्तिहरुसँग सोधपुछ जारी राखिएको जानकारी राईले दिए । स्थानीयले गरिरहेको आशंका र प्रहरीको प्रारम्भिक अनुसन्धान मिलिरहेको छैन । जसका कारण घटना टुंगिन्छभन्ने कुरा अर्को चासोको विषय बनेको छ । ८५ वर्षीय बौदमान कार्कीको घरका ६ जनाको हत्या हुँदा उनी सकुशल भेटिएका छन । एसपी राईका अनुसार तत्कालको अनुसन्धानबाट कार्की परिवारको कोहीकसैसँग पुरानो रिसईबी देखिँदैन ।

घटनापछि त्रसित एवं आतंकित बनेको गाउँ सामान्य अवस्थामा फर्किन सकेको छैन । वडाध्यक्ष खेमराज कटुवालले दर्दनाक दृश्य आफ्नैअगाडि देखेकाले स्थानीय पूरै डराइरहेको बताए । कार्की परिवारले झापामा जग्गा किन्न खोजेकाले घरमा भएको पैसा लुट्न हत्या गरिएको आशंका गरिएको थियो । तर प्रहरीको प्रारम्भिक अनुसन्धानले त्यो आशंकालाई टाढा बनाइदिँदा घटना जटिल मोडमा पुगेको छ । एसपी राईका अनुसार घरभित्रै नगद र गरगहना सुरक्षित फेला परेपछि हत्या आर्थिक पाटोतर्फ नजोडिएको पाइएको छ । प्रहरी स्रोतका अनुसार बाहिरका व्यक्तिहरु जबरजस्ती घरमा पसेर घटना गराएजस्तो पनि देखिँदैन । घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय चैनपुर, जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय इकाई प्रहरी कार्यालय धरान, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका टोली खटिएका छन् ।

दुर्गभ एवं विकट ठाउँमा घटनास्थल भएकाले प्रहरी टोली पुग्न समय लाग्दा घटनाको अनुसन्धान नै २४ घण्टापछि सुरु भयो । सोमबार बिहान शवहरु भेटिए पनि मंगलबार बिहानबाट मात्रै अनुसन्धान थालिएको थियो । निरन्तरको वर्षाले अनुसन्धानमा अवरोध पुर्यायो । वर्षाले घटनाका प्रमाणहरु नष्ट गरिदिएको हुनसक्ने प्रहरीले बताएको छ । प्रहरीले अनुसन्धानका लागि ‘ट्रयाकर’ डग पिकु र लैलालाई प्रयोग गरेको थियो । अनुसन्धानमा कुकुरको प्रयोगले कुनै संकेत नमिलेको बताइन्छ । हत्या गरिएकामध्ये पाँच जनाको टाउकोमा चोट देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले पछाडिबाट टाउकामा कुनै बस्तुले हानेर हत्या गरिएको हुनसक्ने आशंका गरेको छ । एकै पटक ६ जनाको हत्या हुँदा पनि धारिलो हतियार प्रयोग गरेको पाइँदैन । छरछिमेकीले पनि घटना थाहा नपाएको बताएका छन् । यसलाई प्रहरीले निक्कै अनौठो घटनाका रूपमा लिएको छ । घटनाको अनुसन्धानका लागि सीआईबीबाट खटिएको डीएसपी रुगम कुँवर नेतृत्वको टोली गय राति घटनास्थल पुगेको छ ।

संखुवासभाको मादी नगरपालिका–१ का बौदमान कार्कीकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको अवस्थामा सोमबार बिहान शव भेटिएको हो । सबै शव घटना भएको ४८ घण्टापछि उठाएर मंगलबार राति पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । शवहरुको पोस्टमार्टम बुधबार दिउँसो गरिएको छ ।