विराटनगर-  हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि विराटनगरमा मङ्गलबार पनि प्रदर्शन भएको छ । गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३९ वर्षीय भीम कामतको मृत्यु भएपछि आफन्तहरूले विराटनगरको घाँच चोकमा प्रदर्शन गरेका हुन् । मङ्गलबार एम्बुलेन्समा शव बोकेर धरान–विराटनगर सडकखण्डमा आवागमन बन्द गराउँदै प्रदर्शन गरिएको थियो ।

यसअघि सोमबार आफन्त र स्थानीयले जिल्ला प्रशासन कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका थिए ।आइतबार साँझबाट प्रहरीको विरुद्धमा उत्रिएका कामतका परिवारजन, आफन्त र छिमेकीले अस्पतालबाट शव नबुझी सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका थिए । घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने र प्रहरी दोषी देखिए उनीहरूलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

प्रहरीले गत शुक्रबार कामतलाई उनकै घरबाट तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ गरेको थियो । कामत जनपथ मार्गमै नास्ता पसल सञ्चालन गर्थे । कामतको आइतबार दिउँसो मृत्यु भएको थियो । मृतक कामतको खुट्टामा गम्भीर चोट छ । प्रहरीले यातना दिएर मारेको दाबी गर्दै आफन्त र स्थानीयले शव नबुझी प्रदर्शन गरेका हुन् ।