संखुवासभा जिल्लामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उम्लिङ भन्ने स्थानमा एकै परिवारका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय मादीका असई रोशन चौधरीले खबर पलपललाई जानकारी दिए । 

मादी १ बस्ने वर्ष ९३ का वौद्दमान कार्कीको परिवारका ६ जना सदस्य मृत अवस्थामा फेला परेका हुन् । वौद्दमान कार्की भने जिवित रहेका छन् । कार्कीको श्रीमती, एक छोरा , बुहारी, नातीनी बुहारी र वर्ष ५ को एक नातिनि र वर्ष ७ को एक नाती मृत अवस्थामा फेला परेका हुन् ।

घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको असई चौधरीले बताए । उनका अनुसार हाल मादी प्रहरी र सङ्खुवासभा प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ । ‘घटनास्थल यहाँबाट टाढा छ’, उनले भने, ‘अहिले प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।’

यसबारे थप  विवरण आउन बाँकी रहेको छ ।