मोरङको विराटनगर महानगरपालिकामा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ । विराटनगर–१३ डिएभी स्कुलअगाडि ३० देखि ३५ वर्ष उमेरका एक युवा मृतावस्थामा फेला परेका हुन् । 

सडकको छेउमा घोप्टो परेको अवस्थामा पुरुषको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न बाँकी रहेको छ । अहिले घटनास्थलमा इलका प्रहरी कार्यालय रानी विराटनगरको टोली पुगेर घटना मुचुल्का उठाउने काम भइरहेको छ ।

मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उनको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लैजाने तयारी गरिएको छ ।

स्थानीयले मृतक युवा आइतबार साँझ डिएभी स्कुलअगाडि हिँडडुल गरेको बताएका छन् । प्रहरीले मृतक पुरुष लागुऔषध सेवनकर्ता भएको हुनसक्ने अनुमान गरेको छ ।