मोरङ बेलबारी नगरपालिकाबाट प्रहरीले घरमै भरुवा बन्दुक बनाउने कारखाना खोलेका एक जनलाई पक्राउ गरेको छ । आफ्नै घरमा कारखाना सञ्चालन गरी भरुवा बन्दुक बनाई बेचबिखन गर्ने बेलबारी –१ का ५२ वर्षीय आशबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । 

आइतबार बेलुका ६ बजे विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरेको हो । उनलाई भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद १ केजी, बन्दुकको नाल सफा गर्ने रड १ थान त्यस्तै फलामको काजो ३ थानलगायत बन्दुक बनाउन प्रयोग हुने औजारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यस्तै उनको साथबाट पाँच थान हरिणको सिङसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठका अनुसार पक्राउ परेका लिम्बूलाई इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।