विराटनगर-प्रशोधित पाम आयल निकासी गर्दा टिनको बट्टाभित्र पोस्तादाना फेला परेको भन्ने हल्ला तथ्यहिन भएको श्रीराम रिफाइनका संचालक प्रदीप मुरारका बताएका छन । उनले आफ्नो उद्योगबाट गएको तेलको टिनभित्र पोस्ता भेटिएको प्रमाणीत गरे जस्तो सुकै सजाय भोग्न तयार रहेको बताएका छन । 

केही समय देखी आफु विरुद्धमा नभएका कुराहरु मिडियामा उछाल्ने काम भएको बारे उनले दुखी हुदै भने ‘म सार्बजनिक स्थानमा मर्न तयार छु, तर २०/४० लाखको लोभमा यस्तो गलत कार्य गर्दिन ।’ नियोजित रुपमा हल्ला चलाउनेहरु उपर आफु कानूनी उपचारको तयारीमा रहेको मुरारकाले बताए । 

आफुले एक दाना पनि पोस्ता आयात नगरेको उनले बताए । केही ब्यक्तीको निहित स्वार्थका लागि आफुलाई बदनाम गराउन नभएको समाचार प्रेषित गरेको उल्लेख गरे । हुदै नभएको समाचारका कारण आफ्नो मान हानी भएकाले आफुले प्रमुख जिल्ला अधिकारी र कानून ब्यवसायीसंग छलफलमा रहेको जानकारी दिए । उनले भने‘यसले मेरो बेइज्जत मात्र भएन, मुलुकले पामको निकासीबाट लिदै आएको राजश्वनै गुम्ने भयो ।’ 

भारतको राजश्व चुहावट हेर्ने निकाय डिआरआईका एक सिनियर अधिकारीले भारतीय पत्रकारसंगको कुराकानीमा मंगलबार नेपालबाट पाम आयल लिएर भारत प्रवेश गरेका गाडी मध्ये एउटा ट्रकमा आशंका गरि चेकजाँच गरिएको तर त्यसमा त्यस्तो केही फेला नपरेको बताए । ती अधिकारीले फारविसगंजको गोदाम पामको टिनको बट्टाभित्र पोस्तादाना फेला परेको भन्ने हल्ला आफुले पनि सुनेको तर त्यो सत्य नभएको बताए ।