काठमाडाैँ — वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तु ल्याइएको हो ।

नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तुु शनिबार ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ ।

बोर्डका अनुसार कोभिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्तुुमात्रै ल्याइएको छ भने अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए ।

विमानस्थलमा आइपुगेका आठवटा शवमध्ये एक शव बौद्ध धर्म मान्ने भएकाले काठमाडौँको बौद्धमा पुर्याइएको छ । सातवटा शव शनिबार नै मृतकको घरसम्म पठाइएको छ । विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पुर्याउने गरेको छ ।

शवसँगै आएका अस्तु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर बुझ्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । मलेसियामा उडान भर्ने अन्य एयरलाइन्सले शव नल्याउने र नेपाल एयरलाइन्सको वाइडबडी नियमित रूपमा मलेसिया नजाने भएकाले नेपालीको शव लामो समयसम्म मलेसियामै रहने गरेको जनाइएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार गएको अगस्टमा मात्रै मलेसियामा एक सय १२ जना नेपालीको मृत्यु भएको छ । त्यसमध्ये ९६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । हृदयाघात, सवारी दुर्घटना, मदिरा सेवन, शरीरमा जटिल रोगले १६ जना नेपालीको मृत्यु भएको जनाइएको छ ।