विरेन्द्र शर्मा

विराटनगर-कोभिड महामारीका कारण डेढ वर्षमा २३ पत्रकारको ज्यान गएको छ ।  एक हजारभन्दा बढीले आफन्त गुमाएको र अन्य थुप्रै व्यावसायिक रुपमै प्रभावित भएको तथ्य नेपाल पत्रकार महासंघले सार्बजनिक गरेको छ ।  

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखेरेलले नेपाल प्रेस इन्ष्टिच्यूटले आयोजना गरेको मिडियामा कोभिडको असर सम्बन्धी जुममा आयोजना भएको राष्ट्रिय कार्यशालालाई  सम्बोधन गर्दै उक्त तथ्यांक सार्बजनिक गरेका हुन ।  

सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव वैकुण्ठ अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यशालामा अध्यक्ष पोखरेलले ‘कोभिडका कारण कति उद्योग तथा व्यवसाय बन्द भए तापनि मिडिया क्षेत्र जसरी होस् चलिरहेकै छ, दुख सहेर यस क्षेत्रलाई जीवित नराखेको भए महामारीले कति भयाबह स्वरुप देखाउँथ्यो, सबैले पत्रकार तथा सञ्चार क्षेत्रको गुन मान्नु आवश्यक छ ।’

कार्यक्रमका मुख्य अतिथि पोखरेलले, मुलुकका लागि यत्रो भूमिका खेल्ने मिडिया क्षेत्रप्रति राज्य संकीणर् र अनुदार हुनु दुर्भाग्यपूणर् भएको बताए । अध्यक्ष पोखरेलको जबाफमा सोही कार्यक्रमका प्रमुख अतिथि तथा सचिव अर्यालले प्रदेश तथा स्थानीय सरकारले मिडिया तथा सञ्चार क्षेत्रका लागि सघाउने काम गरिरहेको छ, त्यो सहयोग पनि राज्यले नै गरेको हो, संघीय सरकारबाट सहयोग प्राप्त भएन भनेर राज्यले नै सहयोग नगरेको भन्न मिल्दैन भन्ने जवाफ दिए ।  

‘सरकारले मिडिया तथा सञ्चार उद्योगका विभिन्न क्षेत्रमा कर छुटको सोच बनाएको छ, महासंघ तथा नेपाल प्रेस इन्ष्टिच्यूटका अनुभवी सञ्चार विज्ञसँग बसेर छलफल गर्न हामी तयार छौं, तपाईंहरुको सुझावअनुसार हामी अघि बढ्छौ,’ सचिव अर्यालले भने ।  

सूचना तथा सञ्चार, प्रविधि मन्त्रालयको अनुदान सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले “नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिड-१९ ले पारेको असर” विषयमा आयोजित सो कार्यक्रममा सातै प्रदेशका नेपाल पत्रकार महासंघका प्रादेशिक अध्यक्षले तयार पारेको अनुसन्धानमूलक कार्यपत्र पनि प्रस्तुत गरिएको थियो । 

सचिव अर्यालले सञ्चारकर्मीको क्षमता विस्तार, भावी कार्यदिशा निर्माण, नीति निर्माण तथा कार्यान्वयन लगायतका विषयमा सहजीकरण गर्न आफू सदैव तत्पर रहेको बताए । सातवटै प्रदेशबाट उठेका बुँदाहरुको आधारमा तयार पारिने प्रतिवेदनले अगाडिका निणर्य लिन मन्त्रालयलाई सघाउने धारणा राखे ।  

इन्ष्टिच्यूटका कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी तथा कानुनविद काशीराज दाहालले मिडिया जगतले भोगेको पीडाका सम्बन्धमा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।  

कार्यक्रममा प्रदेश १ का प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी प्रमुख यज्ञ शर्मा, प्रदेश २ का आम सञ्चार प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर यादव र प्रेस काउन्सिल नेपालका प्रशासन प्रमुख झविन्द्र भुसालले पनि कोभिडको असरका सम्बन्धमा विश्लेषण गर्दै आ-आफ्नो निकायले खेलेको भूमिकाका विषयमा प्रकाश पारेका थिए ।