विराटनगर— मोरङमा पानीमा डुबेर र करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको भिन्नाभिन्नै स्थानमा फरक प्रकृतिका घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

धनपालथान गाउँपालिका—७ कदमाहा का ३२ वर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउसो पौने ११ बजे घरदेखि ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको  प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, मोरङको विराटनगर महानगरपालिका–१८ खोक्साहा का २८ वर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।

आज दिउसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका उनको कोशी अस्पताल वराटनगरमा उपचारको क्रममा दिउँसो साढे ११ बजे मृत्यु  भएको थियो ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गरिरहेको छ ।