मोरङको सुन्दरहरैँचा नगरपालिकामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति सुन्दरहरैँचा–७ गोठगाउँमा गिट्टी लोड गरिएको टिप्परले मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको थियो ।
हिजो राति ९ बजेतिर पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको को१ख ६५०५ नम्बरको टिप्परले पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएपछि पल्टिएको टिप्परले च्यापरेर मोटरसाइकल चालक पथरीशनिश्चरे–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बू गम्भीर घाइते भएका थिए । घाइते उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले बताए ।
दुर्घटनापछि टिप्पर र चालक मोरङको बेलबारी नगरपालिका–३ का ४८ वर्षीय बुद्धिमान उरावलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालिएको जानकारी प्रहरीले दिएको छ ।

