विराटनगर — सप्तकोसीमा पानीको बहावमा बढेको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयका अनुसार लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार आइतबार बिहान १० बजेसम्म पानीको बहाव बढेपछि ३२ वटा ढोका खोलिएको छ ।


कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ३५ हजार एक सय ५५ क्युसेक पुगेपछि ५६ वटा ढोकामध्ये ३२ वटा ढोका खोलिएको प्रजिअ ढकालले खबर पलपललाई जानकारी दिए । 


उनका अनुसार बराहक्षेत्रमा पानीको बहाव एक लाख ८३ हजार क्युुसेक मापन गरिएको छ । कोसीमा आज बिहानबाट बहाव निरन्तर बढ्दो क्रममा देखिएको बताउँदै प्रजिअ ढकालले पूर्वी पहाडी भेगमा वर्षा जारी रहेकाले नदीको जलस्तरमा वृद्धि भइरहेको बताए । 


सप्तकोसी नदीमा साउन ५ गते यस वर्षको सबैभन्दा बढी वहाव मापन भएको थियो । त्यसबेला नदीको वहाव दुई लाख ४३ हजार पाँच सय १५ क्यूसेक प्रतिसेकेण्ड रहेको थियो । कोशीको वहावमा वृद्धि भएपनि सबै स्पर र तटबन्ध भने सुरक्षित रहेको सुनसरी प्रशासनले जनाएको छ ।


सप्तकोसी आसपासका क्षेत्रमा असार, साउन र भदौ महिना खतरा मानिन्छ । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा बर्सेनि त्रासमा बस्नु पर्ने बाध्यता छ । 


एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च हुँदा समेत भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोल्ने गरेका कारण सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलङ्का टापुका बासिन्दा त्रसित हुने गरेका छन् ।