विराटनगर । इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ ।
विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार शुक्रबार प्रकाशित भएपछि क्लासिटेकले समाचार पोर्टल नै ब्लक गरेको आवर विराटनगर डटनेटका कार्यकारी निर्देशक सरोज कार्कीले जानकारी दिए । क्लासिटेकको इन्टरनेटमा भिपिएन प्रयोग गरेपछि मात्रै वेभसाइट खुल्ने गरेको उनले बताए ।
नेपाल पत्रकार महासङ्घ मोरङले शनिबार एक प्रेस विज्ञप्ति जारी गरेर विराटनगरको सञ्चारगृह ‘आवर विराटनगर नेट’लाइ क्लासिक टेकले ब्लक गरेको जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका सचिव नेत्रप्रसाद अधिकारीले समाचार प्रकाशन गरेको विषयमै अनलाइनलाई प्रतिबन्ध गरेकोमा ध्यानाकर्षण जनाएका हुन् ।
विज्ञप्तिमा समाचारमा चित्त नबुझेमा सञ्चारगृहलाई प्रतिबन्ध लगाउनु नेपालको संविधानविपरीत भएको उल्लेख गरिएको छ । कानुनी उपचारको बाटो हुँदाहुँदै सञ्चारगृहलाई प्रतिबन्ध लगाउनु प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको गम्भीर हनन् भएकाले अविलम्ब क्षमा माग्दै प्रतिबन्ध हटाउन महासङ्घले माग गरेको छ । अविलम्ब प्रतिबन्ध नहटाएमा महासङ्घ जस्तोसुकै कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
क्लासिक टेक भन्छ- ब्लक गरिएको छैन
यता, क्लासिक टेकका डिजीएम पब्लिक रिलेश सुशील सिंह थापाले सञ्चारमाध्यम ब्लक गरिएको विषयमा कुनै पनि सत्यता नरहेकाे बताएका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाे पक्षमा क्लासिकटेक सधैँ प्रतिबध्द रहेकाे बताउँदै उनले भने, 'हामीले याे साइट चल्न दिने या नदिने भन्ने हुँदैन । सरकारले बन्धेज गरेकाबाहेक सबै वेभसाइट निर्वाह रूपमा सञ्चालन गर्नु हाम्राे दायित्व हाे । तपाइँ ब्लक गरिएका वेभसाइटहरू चलाएर त हेर्नुहाेस् ? थाहा भइहाल्छ नि !'
उनले सस्ताे लाेकप्रियताका लागि केही मिडियाहरूले ‘ब्लक’ भनी अफवाह फैलाएकाे जिकिर गरेका छन् । 'उनीहरूलाइ समfचार प्रकाशनपछि केही कारणवस वेभसाइट नखुल्दा साे भ्रम परेकाे हुन सक्छ, याे कुरा त उनीहरूकाे अरू कुनै टेक्निकल समस्या पनि त हुन सक्छ ? हामीले सरकारकाे परिपत्रबिना कुनै पनि वेभसाइट ब्लक गर्न मिल्दै मिल्दैन,' उनले थपे ।


