विराटनगर- लागुऔषध मुद्दामा दोषी ठहर भए पनि जेल सजाय भुक्तान नगरिकन भागिरहेका मोरङको बेलबारीका एक वृद्ध पुरुष लागुऔषधकै धन्दामा संलग्न रहेको पुष्टि भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बेलबारी नगरपालिका–५ घर भएका ६१ वर्षीय राजनारायण भनिने लवनारायण माझीले लामो समयदेखि घरबाटै लागुऔषध गाँजाको कारोबार गरिरहेको पाइएको हो ।

लागुऔषध मुद्दामा अदालतले दिएको सजायलाई छल्दै माझीले पुनः लागुऔषधकै कारोबार थालेको श्रेष्ठले बताए । उनका अनुसार आफ्नै घरको कोठामा राखेको चार किलो तीन सय ग्राम गाँजा र ५० हजार रूपैयाँ नगदसहित माझीलाई पक्राउ गरिएको छ । प्रहरीले माझीविरुद्ध पुनः लागुऔषध मुद्दा चलाउन अदालतबाट हिजो ५ दिनको म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाएको छ ।

माझीलाई जिल्ला अदालत मोरङले २०७५ साल पुस ५ गते छ महिना पाँच दिन कैद र तीन हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर अहिलेसम्म कैद सजाय र जरिवाना भुक्तान नगरिकन लागुऔषध गाँजा कारोबारकै अवैध धन्दा चलाइरहेको डीएसपी श्रेष्ठले बताए ।