विराटनगर -  ठूलो परिणामको प्रतिबन्धित औषधिसहित विराटनगरबाट एक जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विराटनगर महानगरपालिका–१७ का ३० वर्षीय मोहमद अम्जाद अलीलाई हिजोसाँझ पक्राउ गरिएको हो । पक्राउ परेका अलीले भारतको जोगवनीबाट ल्याउँदै गरेको अवस्थामा पशुको उपचारमा प्रयोग हुने १३ काटुन औषधि बरामद गरिएको जानकारी उनले दिए । विराटनगर– १२ बखरीबाट अलीलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार भारतबाट अवैध रूपले ल्याउँदै गरेको प्रतिबिन्धत औषधिहरु इफिकेक्स पाँच काटुन, माइक्रोसुट एक काटुन र एन–बीमेलोक्स सात काटुन बरामद भएको छ । औषधि लगभग दुई लाख ७० हजार मूल्य बराबरको रहेको जानकारी जिसीले दिए । अलीलाई प्रहरीले आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगरको जिम्मा लगाएको छ । अलीविरुद्ध थप कारबाही अघि बढाउन आवश्यक अनुसन्धान सुरु गरिएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले बताए ।

उनका अनुसार बरामद भएको औषधि पशुको उपचारमा प्रयोग हुन्छ । विराटनगरका औषधि पसलसँगको सम्पर्कमा रहेर अलीले भारतबाट नेपालतिर अवैध रूपमा प्रतिबन्धित औषधि ओसारपसार गरिरहेको हुनसक्ने प्रहरीको भनाइ छ । एसपी जिसीका अनुसार साउनयता मात्रै मोरङका विभिन्न स्थानबाट प्रतिबन्धित औषधिसहित ११ जना पक्राउ परिसकेका छन् । त्यस्तै जोगवनीबाट आउँदै गर्दा विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागुऔषधसहित एक जना युवालाई हिजोसाँझ पक्राउ परेका छन् ।

सुनसरीको धरान–६ का २० वर्षीय निखिल रायलाई प्रहरीले पक्रेको हो । उनको साथबाट लागुऔषध लुपिजेसिक १५ एम्पुल, डाइजेल्याब १५, एभिल १४ र फेनारगन १५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले रायविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।