विराटनगर-‘सरकारको निणर्य मान्छु जहा पठाएपनि जान्छु’भनेर अन्तरबार्ता दिने हितेन्द्रदेव शाक्यले अन्तत कुलमान घिसिङ नियुक्त भएको पदमै थमौति गरिपाउँ भनि सर्बोच्चमा दायर गरेको रिटमा मंगलबार सर्बोच्चले मिसिल झिकाउन आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो ।

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत भदौ १ गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका थिए । भदौ २ गते पेसीमा चढे पनि उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको थियो ।

मंगलबारको पेसीमा अन्तरिम आदेश जारी नभए पनि प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निणर्य, कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रीपरिषद्को निणर्य र नेपाल विद्युत् प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश दिएको छ ।