विराटनगर-  विराटनगरस्थित कोसी अस्पतालको शौचालयमा एक पुरुष मृत फेला परेका छन् । सुनसरीको जिल्ला अस्पताल इनरुवाको ओपीडी पूर्जा हातमा बोकेको अवस्थामा कोसी अस्पतालको ओपीडी भवनमा रहेको शौचालयमा मंगलबार दिउँसो साढे १ बजेतिर शव भेटिएको हो ।

ओपीडी पूर्जामा लेखिएअनुसार मृत भेटिएका पुरुष सुनसरीको इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले मृतक सुनसरीबाट थप उपचारका लागि कोसी अस्पताल आएको हुनसक्ने बताए । साथमा मधुमेह लगायतका रोगका औषधि पनि फेला परेको छ ।

घोप्टो परेर लडिरहेको अवस्थामा पुरुषलाई मृत फेला पारिएको र घटनाका बारेमा अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार मृतकका कोही पनि आफन्त सम्पर्कमा आएका छैनन् । शवलाई पोस्टमार्टम गृहमा राखिएको प्रहरीले जनाएको छ ।

 यसैबिच मोरङको मिक्लाजुङमा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ । गाउँपालिका–७ का १८ वर्षीय नारायण बोहोराको शव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पोखरीका माछालाई चारो दिन भनेर बोहोरा सोमबार दिउँसो घरबाट निस्किएको खुलेको छ । त्यसको केही बेरमै पोखरीमा डुबेर बेपत्ता भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका हुन् ।

खोजी गर्ने क्रममा पोखरीभित्र डुबेको अवस्थामा शव भेटिएपछि घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए।