विराटनगर-मोरङको मिक्लाजुङ गाउँपालिका ७ का श्रीमान श्रीमति बिच भएको झगडा छुट्याउन गएका छिमेकीलाई नै आक्रमण गरि हत्या गरेका छन । तीन दाजुभाईले स्थानिय ४३ वर्षीय धनराज लिम्बूलाई मरणासन्न हुनेगरि कुटपिट गरेपछि उनको उपचारको क्रममा मृत्यू भएको हो । हत्याआरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

भदौ ३ गते बिहिबार राती रविन तामाङ र उनकी श्रीमति निरुता तामाङ्ग बिच घरायसी विषयलाई लिएर झगडा परेको थियो । झगडा परेपछि छिमेकी धनराज छुट्याउन गएको बेला तीन जना दाजुभाइले आक्रमण गरेर घाइते बनाएका थिए । घाइते भएका लिम्बूको उपचारको क्रममा विराटनगर अस्पतालमा शनिबार राति ११ः४५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन ।

इप्रका उर्लाबारीले लिम्बूको हत्या आरोपमा तीन दाजुभाई ३३ वर्षीय रविन तामाङ्ग, ३३ वर्षीय आइतराज तामाङ्ग, २६ वर्षीय सन्जय तामाङ्ग र ४० वर्षीय भाग्य तामाङ्गलाई आज पक्राउ गरेको हो । पक्राउ परेकामध्ये रविन, आइतराज र सन्जय दाजु भइ हुन् ।


पारिवारिक झगडालाई लिएर छिमेकी लिम्बूको हत्या भएको अनुसन्धानदेखि खुलेको डिएसपी श्रेष्ठले बताए । रविन र निरुता मिक्लाजुङ-७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएका थिए । बहिनी-ज्वाईंको झगडा भएको सुनेपछि रविनका जेठान ४० वर्षीय भाग्य बम्जन (तामाङ) आफ्नो पसलमा आएका ५५ वर्षीय दुर्गाबहादुर कार्की र लिम्बूलाई लिएर रविनको डेरामा पुगेको खुलेको प्रहरीले जनाएको छ ।


त्यहाँ पुगेर परिवारमा झगडा नगर्न एवं मिलेर बस्नका लागि सम्झाईबुझाई गर्ने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कुटपिट गरेको डिएसपी श्रेष्ठको भनाइ छ । कुटपिटबाट सामान्य घाइते भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । आइतबार विदा भएकोले इप्रका उर्लाबारीले सोमबार घटनामा संलग्नलाई कर्तव्य ज्यान मुद्दामा मोरङ अदालतमा म्याद थप गरेर अनुसन्धान सुरू गर्ने तयारी गरेको छ ।