विराटनगर -  महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) निर्वाचन आयोगमा दर्ता भएसँगै प्रदेश १ मा उपेन्द्र यादव समूह झनै बलियो बनेको छ । पहिलो मधेस आन्दोलनको अधारभूमि विराटनगरसहित प्रदेश १ का १४ जिल्लामा यादव नेतृत्वको जसपा बलियो बनेको हो ।

तत्कालीन राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जनता समाजवादी पार्टी (जसपा) मा मोरङबाट २९ जना केन्द्रीय सदस्य भएका थिए । तत्कालीन जसपाकोतर्फबाट १६ जना र समाजवादी पार्टीको तर्फबाट १३ जना केन्द्रीय सदस्य थिए । तर पार्टी विभाजन भएरपछि तत्कालीन राजपाको ६ जना केन्द्रीय सदस्यहरु यादवको नेतृत्वमा रहेको जसपामा आएको स्रोतले बतायो । काठमाडौंमा सम्पन भएको केन्द्रीय कमिटीको बैठकमा तत्कालीन राजपाका केन्द्रीय सदस्य सुरेश सिंह गन्गाई, भोगेन्द्र यादव , सीपेन्द्र अग्रवाल , मालबावु सहनी, रामलाल सुतिहार, सञ्जु बर्मासमेत सहभागी थिए । यादव समूहको केन्द्रीय कमिटीको बैठक भदौ १ र २ गते आयोजना गरिएको थियो ।

ठाकुर पक्षले निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा समेत मोरङबाट कसैलाई समेटिएको छैन । एक केन्द्रीय सदस्यका अनुसार जसपाको जिल्ला कार्यसमिति चयन गर्न बनाएको ८ सदस्यीय कार्यदलमध्ये ७ जना यादव समूहमा आउने भएका छन् । समायोजनको बेलासमेत राजपा कार्यदलका ४ सदस्यले यादव समूहकै पक्षमा जिल्ला समिति बनाएको थियो  । जसपाका तर्फबाट जयराम यादव, रामचन्द्र लिम्बू, राधा थापा प्रदेश सांसद हुन । उनिहरु यादव पक्षमै रहेको बताइएको छ ।