विराटनगर- प्रदेश  १ मा संचालन भइरहेका सार्वजनिक सवारी साधनको भाडा बढाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रुबहाक एवं मालबहाक सवारी साधनको भाडा २३ प्रतिशतसम्म बढाइएको सूचना सार्वजनिक गरेको हो । वृद्धि गरिएको भाडादर भदौ १ देखि प्रदेशभरि सञ्चालन हुने सवारी साधनमा लागू भएको मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ओमप्रकाश साहले जानकारी दिए।

उनका अनुसार पहाडी रुटमा संचालन हुने मालबहाक सवारी साधनमा १६.५, यात्रुबहाक सवारीमा २२ र तराईमा संचालन हुने मालबहाक सवारीमा २३ प्रतिशतसम्म भाडा वृद्धि गरिएको छ । श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी, मूनाफा लगायतका सूचकहरुमा देखिएको मूल्यवृद्धिका आधारमा भाडा बढाइएको उनले बताए ।

प्रदेशको भाडा निर्धारण परामर्श समितिको गत साउन १७ गते बसेको बैठकले भाडा वृद्धिका लागि सरकारलाई सिफारिस गरेको थियो । संघीय सरकारले लामो दूरीमा अन्तर प्रदेश संचालन हुने सवारी साधनको भाडामा २८ प्रतिशतसम्म वृद्धि गरेको थियो । उक्त भाडादर भने असार २९ गतेबाटै लागू भइसकेको छ ।