विराटनगर- तस्करी नियन्त्रण र सीमा सुरक्षाको महत्वपूर्ण जिम्मेवारीमा रहेको सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रित गर्दै प्रदेश १ मा महत्वपूर्ण एवं विशेष अभियानको थालनी गरेको छ । सशस्त्रको सक्रियतामा भारतसँग सीमा जोडिएका प्रदेश १ का विभिन्न वडाहरुमा जनप्रििनधिको नेतृत्वमा सुरक्षा निकाय र सिमावर्ती क्षेत्रका सर्वसाधारण सम्मिलित ‘सीमा निगरानी समिति’ गठन गर्न थालिएको हो ।

समितिले सीमा सुरक्षामा देखिने र आइपर्ने विभिन्न समस्या समाधानको पहल गर्ने छ । साथै सीमालाई व्यवस्थित एवं सुरक्षित बनाउन पनि सहयोग पुग्ने अपेक्षा सशस्त्रले गरेको छ । सीमा सुरक्षामा सबै पक्षको साथ खोज्दै सशस्त्रले सिमावर्ती क्षेत्रमा जनप्रतिनिधिको नेतृत्वमा राजनैतिक दल, विभिन्न निकाय, स्वास्थ्यकर्मी, सामाजिक संघ संस्था र सुरक्षा निकायका प्रतिनिधि एवं नागरिक अगुवा, बुद्धिजिवी तथा सीमा क्षेत्रका बासिन्दा सम्मिलित संयन्त्र तयार पारिरहेको हो । जनस्तरमै बनेको संयन्त्रले मजवुत सुरक्षा तथा सीमा अपराध र अवैध धन्दा नियन्त्रणमा सशस्त्रलाई आवश्यक सहयोग गर्नेछ । संयन्त्रमार्फत सीमाका समस्याको पहिचान एवं त्यहाँका बासिन्दाको आवश्यकता र अवस्था पनि अध्ययन गर्न थालिएको छ ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालको नेतृत्वमा नेपाल–भारत सीमा क्षेत्रमा पहिलो पटक महत्वपूर्ण अभियान संचालन भएको हो । सीमामा हुने गरेका तनाव, अवैध गतिविधी एवं धन्दा, तस्करी र अन्तरदेशीय अपराध नियन्त्रण तथा नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा मजवुत बनाउन दाहालले नयाँ अवधारणा लागू गरेकाहुन । सीमामा कुनै समस्या आएमा तत्काल हल गर्ने र जोखिमपूर्ण तनावको अन्त्य गर्ने उदेश्य अभियानको छ । झापामा २१, मोरङमा १९ र सुनसरीमा १० गरेर प्रदेश १ मा ५० वटा ‘सीमा निगरानी समिति’ बनाइसकिएको छ । भारतसँग सीमा जोडिएका सबै वडामा समिति गठन गर्ने योजना छ । प्रदेशमा झापा, मोरङ र सुनसरी गरेर भारतसँग ४९१.२ किलोमिटर खुला सीमा छ ।

समितिले सीमा अतिक्रमण, अपराध, चोरी तस्करी र अवैध आवतजावत नियन्त्रण कोरोना महामारीविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन, सीमा स्तम्भको नियमित अनुगमन र सुरक्षा लगायतका काम गर्नेछ । जनस्तरमा बनेको समितिले सिमानामा नागरिक–सशस्त्र सम्बन्ध सुधार र सशस्त्र परिचालनमा पनि प्रभावकारी एवं विशेष सहयोग गर्ने डीआईजी दाहालले बताए ।

नेपाल–भारत सामान ओसारपसार गर्न नपाउँदा सर्वसाधारणले सुरक्षाकर्मीलाई दुस्मनको नजरले हेरिदिने र सुरक्षाकर्मीले पनि सीमाका बासिन्दासँग राम्रो व्यवहार नगर्ने संस्कारको विकास भएर एकअर्काप्रति अविश्वास, तिक्ततापूर्ण सम्बन्ध र वैमनश्यता बढ्दै गएका कारण सशस्त्रलाई जनस्तरको सहयोग आवश्यक परेको दाहालको विश्लेषण छ । झापाको मेचीनगर नगरपालिका–१ का वडाध्यक्ष पासाङ तामाङले जनस्तरमा बनेको समिति सक्रिय हुँदा भारतबाट नेपाल र नेपालबाट भारततिर हुने गरेको तस्करी लगायत विभिन्न अपराध नियन्त्रणमा सहयोग पुग्ने बताए