विराटनगर-  विराटनगरस्थित जिल्ला कारागार मोरङमा दुई दिनको अवधिमा दुई जना कैदीको शंकास्पद मृत्यु भएको छ । कारागारमा कैद सजाय भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको हिजो र सुनसरीको धरानका ३० वर्षीय सुवास लिम्बूको अस्ती सोमबार मृत्यु भएको हो । अदालतले जबरजस्ती करणी मुद्दामा गुरुङलाई १० वर्ष कैदको फैसला सुनाएको थियो । उनी २०७४ वैशाख ५ गतेदेखि कारागार बसेर सजाय भुक्तान गरिरहेका कैदी हुन् ।

कोरोना भाइरसविरुद्धको खोप लगाउन अरु कैदीबन्दीसँगै लाइनमा बसेका बेला अचानक बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा गुरुङको मृत्यु भएको र शव परिवारका सदस्यको जिम्मा लगाएर पठाइएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले दिऐ । उनका अनुसार गुरुङलाई घाँटी सम्बन्धी क्यान्सरको पुरानै समस्या रहेको पाइएको छ । त्यस्तै लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लिम्बूको पनि सोमबार मृत्यु भयो ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै उनलाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएका लिम्बूका आफन्त र परिवारका सदस्यले भने कारागारभित्र दिइएको यातनाका कारण ज्यान गएको गुनासो गरेका छन् । लगातार दुई जना कैदीको शंकास्पद मृत्यु भएपछि कारागारभित्रको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न खडा भएको छ । घटनाका कारण कारागारभित्र रहेका कैदीबन्दीका आफन्त एवं परिवारका सदस्य सशंकित तथा त्रसित बन्न थालेका छन् । उनीहरुले चौकीदार नवीन राईको समूहले निर्घात कुटपिट गर्ने र यातना दिने गर्दा पनि सम्बन्धित निकाय रमिते बनेको गुनासो पोखेका छन् ।

यस्ता घटनालाई लिएर उनीहरुले बारम्बार कारागार र जिल्ला प्रशासन कार्यालयको ध्यानआकर्षण पनि गराइसके । तर सुनुवाइ नभएको र चौकीदारलाई नै मलजल एवं संरक्षण गर्ने काम भइरहेको गुनासो कैदीबन्दीका आफन्तको छ । उनीहरुका अनुसार नियमित रूपमा दिने गरिएको गम्भीर यातनाका कारण कारागारभित्रका कैदीबन्दीको स्वास्थ्य अवस्था बिग्रदै गइरहेको छ । प्रशासनकै मिलेमतो एवं संरक्षणमा कारागारभित्र असुरक्षा बढ्नु गम्भीर अपराध भएको उनीहरुको भनाइ छ । कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले हिजो कारागारभित्र रहेका ७ सय ३२ कैदीबन्दीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरिएको बताए । तर कारागारभित्र दिइने यातनाका बारेमा आफूलाई केही जानकारी नभएको उनको भनाइ छ ।

‘क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेकाले कारागारभित्र समस्या छ,’ पोखरेलले भने, ‘कतिपयको स्वास्थ्यमा पुरानै समस्या रहेकाले नियमित उपचार पनि गराइरहेका छौँ ।’ २ सय ५० जना क्षमताको मोरङ कारागारमा अहिले ७० जना महिलासहित ९ सय ३७ जना कैदीबन्दी राख्नु परिरहेको जानकारी उनले दिए ।