विराटनगर-नेपाली कांग्रेस सुनसरीका सभापति एव प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सभाको बैठक अन्त्यका लागि अपनाएको तरिका गैर संवैधानिक भएको बताएका छन ।
प्रदेश सभाको सोमबारको बैठक पछि सभामुखले मंगलबार १ बजे बैठक बस्ने जानकारी सदनलाई दिने तर त्यहि साँझ प्रदेश सरकारले बिना छलफल नै हठात प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने मन्त्री परिषदले निणर्य गर्नु संसदीय अभ्यासको खिलाफ भएको कोइरालाले बताए ।
कोइरालाले प्रदेश सभाको बैठक अन्त्य गर्नुनै थियो भने विधि सम्मत गर्न सक्ने अवस्था हुदाहुदै प्रदेश सरकारले गैर संवैधानिक बाटो अपनाएकोमा आलोचना गरे । मुख्यमन्त्रीले यहि अधिवेशनमा प्रदेशको नामाकरण गर्ने बताएपनि उनले कुनै पहल नगरेको कोइरालाले बताए ।
सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रकाशित सुरसेर राष्ट्रिय दैनिक पत्रिकाको विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै कोइरालाले ग्रामिण क्षेत्रको पत्रकारीतालाई व्यवसायिक बनाउन आवश्यक रहेको बताए ।
कोइरालाले सुनसरीको ग्रामिण क्षेत्र हरिनगर गाउँपालिकाबाट प्रकाशित सुरसेर पत्रिकाले जनविश्वास जित्न आवश्यक रहेको बताए । हरिनगर गाउँपालिकाबाट पहिलो सुरसेर राष्ट्रिय दैनिक पत्रिकाले इतिहास रचेको बताउँदै नेता कोइराला ग्रामिण क्षेत्रको विकासका लागि निष्पक्ष सत्य र तथ्य समाचार सम्प्रेषण गर्न आग्रह समेत गरे ।
प्रदेश १ का सभासद हाजी ताहिर अन्सारीले पत्रकारीताको मार्फत जनतालाई सूचनाको अनुभूति हुने गरी समयमा पत्रिका घरघर पुगाउन आग्रह समेत गरे । सुरसेर राष्ट्रिय दैनिक पत्रिका हरिनगरबाट प्रकाशन भएको हुदाँ खुशी भएको बताए ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले हरिनगरमा पत्रकारीताको विकासमा थप मदत पुगेको बताए । हरिनागरले विकासका फड्को मारेपनि पत्रकारीताको विकासमा आफूले पहलकदमी भूमिका निर्वाह गर्न सुरुवात गरेको जानकारी दिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले ग्रामिण क्षेत्रमा पत्रिका प्रकाशन गर्नु ठूलो चुनौती रहेको बताए । ग्रामिण क्षेत्रको पत्रकारीता विकासमा पनि सबैको ध्यान जानुपर्ने उनले बताउँदै चुनौतीलाई चिर्दै अगाडी बढ्नुपर्ने समेत बताए । सुनसरीको हरिनगर १ रामनगर भूटाहा आफैमा ऐतिहासिक ठाउँ हो, उनले भने, सुरसेर राष्ट्रिय दैनिक पत्रिकाले यो ठाउँमा ऐतिहासिक कामको थालनी भएकोले यसलाई निरन्तरताको कामना समेत गरेका थिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष लीलाबल्ल्भ घिमिरेले कोरोना महामारीका कारण पत्रिकाहरु बन्द हुने अवस्थामा पुगेको बताए । ग्रामिण क्षेत्रमा सुरसेर दैनिक प्रकाशनमा आएकोले शुभकामना व्यक्त गर्दै सर्वसाधारणहरुलाई पत्रिका किनेर सहयोग गर्नका लागि पनि अनुरोध गरेका थिए ।
विमोचन कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारी, जसपा हरिनगरका अध्यक्ष धर्मवीर आर्य, हरिनगर माविका प्रधानाध्याक बलराम यादव, नेपाली कांग्रेस कोसी गाउँपालिकाका सभापति सुलेमान मंसुरी, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य प्रमोद यादव, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साह, हरिनगर १ का वडाध्यक्ष अब्दुल लतिफ अन्सारी, पत्रकार बीरेन्द्र केएम, समाजसेवी सेराज फलाही लगायतकाले शुभकामना मनतब्य व्यक्त गरेका थिए ।

