विराटनगर-  मोरङको सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको पछिल्ला काम कारबाहीप्रति कर्मचारी असन्तुष्ट बनेका छन् । पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिले विश्वविद्यालय संचालनमा दीर्घकालीन एवं गम्भीर संकट आउन लागेको भन्दै ध्यानआकर्षण भएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै संघले विश्वविद्यालयका उपकुलपति डा. यादवराज कोइरालाको ध्यानआकर्षण पनि गराएको छ ।

महामारीले शैक्षिक गतिविधी ठप्प हुँदा विश्वविद्यालयको आम्दानी ५० प्रतिशतमा खुम्चिएको संघको ठहर छ । संघका सभापति राजकुमार सापकोटाले कोरोना महामारीले नियमित रूपमा पठनपाठन, परीक्षा लगायतका विभिन्न प्राज्ञिक तथा प्रशासनिक गतिविधीहरू संचालनमा असर परिरहँदा त्यसको समाधानका लागि कुनै चासो नदिएको बताए । महामारीको विकराल अवस्थाले विश्वविद्यालयको आम्दानी घटेर आर्थिक संकट आउन लागेका बेला विद्यार्थीको सिकाई र शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन छाडेर ऐन एवं कानुनको उल्लंघन गरी विगतमा नियुक्त नभएका पदाधिकारीको नियुक्तिमा हतारो गरिएको भन्दै कर्मचारी संघले विरोध जनाएको छ ।

आर्थिक भार थपिने गरी आवश्यकता, औचित्य र त्यसले विश्वविद्यालयमा पार्ने आर्थिक प्रभाव एवं असरको गहन अध्ययन, विश्लेषण र मूल्यांकन नगरी ऐन, नियममावली तथा सांगठानिक संरचनामा समेत व्यवस्था नभएको पद सिर्जना गर्दै नियुक्ति गरिएको संघको ठहर छ । संघले प्रशासनिक संरचनालाई व्यवस्थित गरी परिणाममुखी बनाउने, शिक्षक तथा कर्मचारी अभावको पूर्ति गर्ने, नियमावलीलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने लगायतका विषय अन्योलमै रहेको जनाएको छ । संघले शिक्षण अस्पताललाई व्यवस्थित बनाउने विषय प्राथमिकतामा नपरेको भन्दै आपत्ती जनाएको छ ।

कर्मचारीले प्राज्ञिक तथा प्रशासनिक उन्नयनका सन्दर्भमा विभिन्न समयमा राखेका माग पूरा गर्न विश्वविद्यालयले चासो नदिएको सापकोटाले बताए । ऐन र नियमावलीको व्यवस्था विपरीत अहिलेलाई सान्दर्भिक नभएको पदमा जथाभावी पदाधिकारी एवं कर्मचारीको नियुक्ति, भौतिक तथा विलासी जीवनशैली अपनाएर गरिएको स्रोत साधनको दुरूपयोग र विश्वविद्यालयको आवश्यकतालाई पर पारेर फरक ढंगले हिँडनेजस्ता कार्य तत्काल बन्द गर्नुपर्ने माग संघले राखेको छ ।

वार्ताका माध्यमबाट अबको तीन दिनभित्रमा माग पूरा नभए आन्दोलनमा उत्रने संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालयका उपकुलपति डा. यादवराज कोइरालाले कर्मचारीहरुले उठाएको विषयमा छलफल भइरहेको बताए । तर कर्मचारीले उठाएजस्तो नियुक्ति लगायतका विषयमा समस्या नरहेको भनाइ उनको छ । कर्मचारीले राखेका मागलाई वार्ताका माध्यमबाट सम्बोधन गरिने डा. कोइरालाले बताए ।