विराटनगर-  प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले व्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताइन । उनले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरेपनि यो प्रदेशको गौरवको योजना भएको बताइन । सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डीङ तथा बजारीकरणका लागि गठन गरेको व्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री राईले सो कुरा बताएकीहुन ।

उनले प्रदेश १ मा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै व्याण्ड भर्सेस ब्राण्ड अबधारणा ल्याईएको बताइन । कानुन अड्चनहरुलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्ने मन्त्री राईकोे भनाई छ । प्रतिवेदन ग्रहण गर्दै उनले भनिन,‘ समृद्धिको ढोका प्रदेश १ सरकारले खोल्यो ।’ प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन शुरु गर्ने मन्त्री राईको भनाई छ । उनले बनमारा मासेर कोदो लगाईने प्रष्टपारिन ।

मन्त्री राइका अनुसार,‘ गाउँपाखामा  रहेको बनमारा उखेलेर कोदो रोपीने छ ।’ सामाजिक विकास मन्त्री राईले नेपालको उत्पादनलाई छिमेकी देशहरु भारत र चीनमा लगेर बजारीकरण गर्नुपर्ने  बताईन । उनले,‘विदेशीहरु नेपाली उत्पादन खोजेर बसेपनि, हामीले दिन नसकिरहेको बताईन ।’ व्याण्ड भर्सेस ब्राण्ड समाजवादको सुत्रधार समेत रहेको बताउँदै उनले सयौं योजनाहरु यसमा रहेको बताईन । नेपाली घरेलु मदिराको उत्पादन शुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने उनको दावी छ ।

उनले गुणस्तरिय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञ लगायतको टिम निर्माण गरिने जानकारी गराईन । कार्यदलका  संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूणै लोक्सोमले व्याण्ड भर्सेस ब्राण्ड बृहत अवधारणा भएको बताए । उनले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरु, जनप्रतिनिधिलगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताए ।